सुन्दरको मृत्यु रहस्यमय

नाम एकको, मृत्यु अर्कैको

असल शासन प्रतिनिधि

रोल्पा/ रोल्पा कारागारमा मृत भेटिएका बाँकेका सुन्दर हरिजनका परिवारले छानविन सुस्त भएको गुनासो गरेका छन् ।

उनीहरूले छानबिन गर्न समिति गठन भएता पनि आफूहरूको सम्पर्कमा नआएको पीडित परिवारले बताएका छन् ।

सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर मृतक हरिजनका परिवारले घटनाको छानबिन समितिले सुस्त गतिमा काम गरेको बताएका हुन् ।

मृतक हरिजनका दाई राजकुमार हरिजनले सम्मेलनमा बोल्दै आफूहरूलाई न्याय दिन सरकारी पक्षबाट ढिलासुस्ती भएको गुनासो गरे । उनले घटनाको छानबिन गर्न गठित समितिले आफूहरूलाई सम्पर्क नगरेको बताए ।

हामीलाई सरकारले वास्तै गरेन । अहिले दाइको घटनाको छनबिन गर्न समिति बनेको छ भन्छन् । अहिलेसम्म हामीहरूले उहाँहरूलाई भेट्न पाएका छैनौं, उहाँहरू हामीसँग भेट्न आउनु भएको पनि छैन,’ राजकुमारले भने ।

सम्मेलनमा पीडित परिवारले छिटोभन्दा छिटो आफूहरूले न्याय पाउन पहल गर्दिन्, सबैमा आग्रह गरेका छन् ।

सम्मेलनमा उपस्थित नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज श्रेष्ठले पीडित परिवारले छिटो न्याय पाउनु पर्नेमा जोड दिए । उनले यस घटनाका आरोपितहरूलाई सजाए दिन छानबिन समितिले निष्पक्ष काम गर्नु पर्ने बताए ।

उनीहरूले यसअघि आइतबार न्यायका लागि जिल्ला प्रशासन आगाडि धर्ना पनि दिएका थिए । उनीहरूले न्यायको माग गर्दै नेपालगन्ज उप–महानगरपालिकाको गेटदेखि गणेशमान चोक हुँदै जिल्ला प्रशासनसम्म पुगेका हुन् ।

सुन्दर हरिजन बुधबार राति रोल्पा कारागारमा मृत भेटिएका थिए । मोबाइल चोरीको आरोपमा हरिजन थुनामा परेका थिए ।

मृत्यु सुन्दर हरिजनको भए पनि नाम चाहिँ विजयविक्रम शाहको उल्लेख गरिएको छ । मृत्यु एक जनाको हुँदा अर्कैको नाम कारागारले किन उल्लेख गर्यो भन्ने बिषय रहस्यमय छ । सो घटनाका बारेमा सुन्दरको मृत्यु पश्चात थप बुझ्दा अपराधिक लाभ मुद्दामा जेल परेका सुर्खेत बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय शाह दुई वर्षअघि नै जेलमुक्त भइसकेका थिए । कारागार प्रशासन र प्रहरीकै मिलेमतोमा यस्तो घटना भएको आशंकामा कारागार व्यवस्थापन विभागले छानबिन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा हरिजनको शव भेटिएको बताउँदै आएको छ ।
घटना बारे कारागार व्यवस्थापन विभागले शुक्रबार छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले पाएको सूचना अनुसार शाह जेलबाट छुटेर भारत पुगेको र त्यहाँ पनि अपराध गर्दा उनी जेल परेका छन् ।
घटनाको विषयमा सत्य–तथ्य पत्ता लगाउन निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरिएको विभागका महानिर्देशक वासुदेव घिमिरेले बताए । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

हरिजनको कैद सजाय सकिन तीन महिना बाँकी हुँदा रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो । जसले घटना योजनाबद्ध देखिन्छ । ८ मंसिर ०७७ मा बाँकेबाट दुवैजनालाई एकैपटक रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो । एक महिनापछि छुट्नुपर्नेलाई किन रोल्पा स्थानान्तरण गरियो, रहस्यमय छ । यसमा जेल प्रशासनको मिलेमतो हुन सक्ने देखिन्छ ।

सरुवालगत्तै बाँकेको कारागार प्रशासन प्रमुख पनि फेरिएका थिए ।
अर्को एक जानकारी अनुसार, रोल्पा कारागारमा स्थानान्तरण भएपछि शाह र हरिजनको परिचय फेरियो । विजयविक्रम शाह सुन्दर हरिजन भए भने सुन्दर हरिजन विजयविक्रम शाहको पहिचानमा जेलभित्र बसे । यसमा प्रहरी तथा कारागार प्रशासनको मिलेमतोको आशंका गरिएको थियो ।

भाइ रोल्पा स्थानान्तरण भएको कुरा थाहा भए पनि अर्कैको नाममा जेल बसेको थाहा नभएको दाइ राजकुमार बताउँछन् । तर, कारागार प्रहरी स्रोतका अनुसार यसमा आर्थिक लेनदेन छ । यो कुरामा हरिजनको परिवार पनि जानकार छ ।

गत आइतबार मात्रै भाइलाई ६ हजार रूपैयाँ पठाएको उनी बताउँछन् । राजकुमारले भाइले आत्महत्या गरेको भन्ने कारागार र प्रहरीको दाबी पत्याएका छैनन् । सुन्दर आत्महत्या गर्ने खालको मान्छे नभएको उनी बताउँछन् ।

दाई सुन्दर हरिजन बारे अदालतको फैसला नै आफूहरूलाई थाहा नभएको बताउँछन् । उनले भने, अदालतले मागेको धरौटीको विषयमा थाहै छैन, थाहा भएको भए ऋणधन गरेर भए पनि तिर्थेँ । ऊ सानै उमेरमा सानोतिनो मुद्दामा जेल गएको हो । जेल बसेको पनि चार वर्ष भइसक्यो । पहिला कुरा हुन्थ्यो, बोलिरहेकै हुन्थ्यो ।’

कसरी भयो घटना ?

शाह र हरिजन एकैचोटि जेल परेका व्यक्ति हुन् । दुवैजना ०७५ मा एकै दिन जेल परेका हुन् । प्रहरी स्रोतका अनुसार शाह अपराधिक लाभ मुद्दामा जेल परेका हुन् भने हरिजन भने मोबाइल चोरीको मुद्दामा जेल परेका थिए । हरिजन फरक–फरक दुई मुद्दामा जेल परेका हुन् । उनी १९ भदौ ०७६ देखि हिरासत हुँदै कारागार पुगेका थिए । जिल्ला अदालतको २१ माघ ०७६ को फैसालाले उनलाई एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना तोकेको थियो । जरिवाना नतिर्दा पनि उनी २३ असोज ०७७ मा जेलमुक्त भइसक्थे ।

पहिलो मुद्दा खेपेलगत्तै उनलाई तीन महिना कैद र ५० हजार रूपैयाँ जरिवानाको अर्को मुद्दा चल्यो । १० र ५० हजार रूपैयाँ धरौटी र एउटा मुद्दामा एक वर्ष र अर्कोमा तीन महिना कैदको फैसला तोकेको थियो । उनी ०७६ भदौ १९ देखि हिरासत हुँदै कारागार पुगेका थिए । पहिलो मुद्दाको फैसला २१ माघ ०७६ मा भएको थियो– एक वर्ष कैद र १० हजार जरिवाना हुने गरी । यसअनुसार जरिवाना नतिर्दा पनि उनी २३ असोज ०७७ मा जेलमुक्त हुन्थे । तर, लगत्तै उनीमाथि दोस्रो मुद्दा चल्यो ।

  • १७ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech