६ प्रश्नमा एकराज गिरी

एकराज गिरी, अध्यक्ष, नेपाल पत्रकार महासंघ झापा प्रधान सम्पादक, पूर्वाञ्चल दैनिक

१. तपाईको जीवनको आदर्श के हो ?
– सरलता, सेवा, सहयोगीपन, सकारात्मक सोच, अरुलाई आदर र सम्मान गर्ने मेरो आदर्श हो । साथै कम बोल्ने, कुरा भन्दा काममा ध्यान दिने तथा अरुलाई सुन्ने, जे काम गर्छु योजनावद्धरुपमा त्यसमै लगनशील मिहिनेतका साथ गरिरहने मेरो शैली र स्वभाव छ ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– अहिलेसम्मको जीवनको समग्र उत्प्रेरक मातापिता र गुरुहरुनै हुनुहुन्छ । तर विषयगतरुपमा मेरो काम र संलग्नताको दृष्टिकोणले भन्नुपर्दा भ्रष्टाचारविरुद्ध असल शासनको अभियानमा केदार खड्काको उत्प्रेरणा रह्यो । पत्रकारितामा गुरु मदन ढकालकै प्रेरणा र आदर्शले म यहाँ छु । सामाजिक सेवा र अभियानमा महेन्द्रकुमार गिरी अनि मानवीय सेवाका क्षेत्रमा लोकराज ढकालबाट प्रेरित छु । विवाद निरुपण, द्वन्द्व व्यवस्थापन, मेलमिलाप र शान्ति निर्माणका क्षेत्रमा दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, प्रिति थापा र सुमिना राई कार्कीबाट प्रेरित छु । जेसीज अभियान र नेतृत्वका क्षेत्रमा बिनोद बस्नेत तथा सकारात्मक सोच र ध्यान–मेडिटेशनमा बह्मकुमार राजु घलेबाट प्रेरित छु । उहाँहरुसंगै अरुपनि धेरै हुनुहुन्छ जसको सान्निध्य, मार्गदर्शन र सहकार्यबाट म यहाँ छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– पत्रकारितामार्फत आम नागरिकलाई सूसुचित गर्ने, भुईंमान्छेका आवाज बुलन्द गर्दै अधिकारमा बसेकाहरुलाई खबरदारी गर्ने काम गरिरहेको छु । जिल्लाका व्यवसायिक पत्रकारको ज्ञान, सीप र क्षमता वृद्धि, उनीहरुको सामाजिक सुरक्षा, पत्रकार आचारसंहिता पालनामा जोडसंगै पत्रकारिताको मर्यादा र गरिमा बढाउन पत्रकार महासंघ झापाको टिममा रहेर काम गरिरहेको छु । संवादमार्फत समसामयिक सवालहरुको निरुपण, शान्ति निर्माण र सुशासनमा टेवा पुर्याइरहेको छु । साथै अन्य विविध अभियानमा जोडिएर लक्षित समुदायको हित र सामाजिक काम गरिरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– ०६० सालमा सशस्त्र युद्ध गरिरहेको माओवादीले इलामको पशुपतिनगर इलाका प्रहरी कार्यालयमा आक्रमण गरी त्यहाँका ४० जना प्रहरीलाई अपहरण गरेर संखुवासभाको नुनढाकी गुफापोखरी पुर्याएको बेला उनीहरुलाई मुक्त गर्ने क्रममा अन्तर्राष्ट्रिय मानवअधिकारवादी र केही सञ्चारकर्मी संगै को टोलीमा सहभागी हुँदाको क्षण सम्झन्छु । अर्को चाहिँ धर्तीको स्वर्ग भनिने यूरोपको स्वीटजरल्याण्ड २०२१ को नोभेम्बरमा जर्मनी निवासी भिनाजु उपेन्द्र गिरीका साथ पुग्ने अवसर मिल्यो, त्यो क्षण अविश्मरणीय लागेको छ ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
– निष्पक्ष, तटस्थ, प्रभावकारी, जनमुखी र नागरिक सहभागितामूलक शासन व्यवस्था असल शासन हो । जहाँ पारदर्शिता र जिम्वेवारीमा बस्नेहरुबाट जवाफदेहिता वहन हुन्छ, सदाचार पद्धति अवलम्वन हुन्छ । विधिको शासन र भ्रष्टाचारमुक्त अवस्था नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– पत्रकारिता, सामाजिक अभियानमार्फत सबैखाले विभेदको अन्त्य, दीगो शान्ति, सुशासनयुक्त र समृद्ध समाज निर्माणमा टेवा पुर्याउने समाजका लागि मेरो अठोट छ ।

 

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech