कता जाँदैछ मेरो समाज ?

प्रेम बहादुर शाही

अछाम जिल्ला पन्चदेवल बिनायक नगरपालिका वडा नम्वर ४ कालिकास्थान निबासी १६ बर्षिय नाबालक बिनोद शाही जेठ १७ गते देखि बेपत्ता भइ जेठ २१ गते ४ दिन पछि सोही ठाउँको मध्य पहाडि राजमार्ग देखि ३०० मिटर तल खोलामा मृत अबस्थामा लास भेटिएको भन्ने समचार सम्प्रेषित भइरहेका छन् ।

गत बैशाख ३० गते स्थानीय तहको निर्बाचनको क्रममा राजनैतिक दलहरु बिच झडप भएको, उक्त झडप पछि नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच पटक पटक झडप भएको र सोही निर्वाचन को बिषय लाई लिएर नव निर्बाचित मेयर लगायतका मानिसहरुले प्रहरीको निर्देशन र मिलेमतोमा जेठ १७ गते कालिकास्थान लाई घेरा हाली बस्तिमा प्रबेश गरि महिला तथा बालबालिका माथी धर पकड र हातपात गरेको र मृतक बिनोद शाही लाई अपहरण गरि हत्या गरि फालेको भन्दै युवा, बिद्यार्थी र मृतकका आफन्तहरुले बिरोध गरिरहेका छन् ।

सामाजिक सन्जालमा सम्प्रेषण भएका अपुष्ट भिडियोहरुलाई हेर्ने हो भने रातिको समयमा प्रहरीले धर पकड गरिरहेको र महिलाहरुले आफन्त लाई जोगाउने प्रयास गर्दा प्रहरीले लछार पछार गरिरहेको देखिन्छ । यदि सामाजिक सन्जालमा सम्प्रेषित समचार सत्य तथ्य हुन भने राज्य, नेपाल सरकार तथा आम नागरिकले ठन्डा दिमागले सोच्नु पर्ने बेला आएको देखिन्छ । त्यो के हो भने राजनीतिको जामा पहिरिएर हाम्रो समाज कतातिर जादैछ ? बिगतमा जिउँदाको जन्ती र मर्दाका मलामी बन्ने हाम्रो मौलिक संस्कार किन धरासायी बन्दैछ ?

इमान, धर्म, निष्ठा, मानबियता, सामाजिक सद्भाव र भाइचाराको अन्त्य भएकै हो त ? बर्तमान राजनिती र दलिय ब्यबस्थाले हाम्रो समाज लाई कतातिर डोरयाउदैछ ? राज्य, नेपाल सरकार र सम्बन्धित पक्षले यी तमाम अनुत्तरित प्रश्नको आम नागरिक लाई जबाफ दिनु पर्ने देखिन्छ ।

समसामयिक नेपाली समाजमा अर्को खतरनाक पक्ष के देखिदैछ भने कुनै अपराधिक घटना र राज्यको फौजदारी कानुनको उलंघन को बिषय लाई राजनीतिकरण गर्ने र दलिय चश्माबाट विश्लेषण गर्ने प्रबृतिले दण्डहिनताको अबस्था सृजना हुने खतरा देखिदैछ । गएको स्थानिय तहको निर्बाचनमा मैले प्रत्यक्ष रुपमा देखे भोगे अनुसार अझ विशेष गरि पहाडी समाजको विश्लेषण गर्ने हो भने राजनीतिको नाममा अति असहिष्णु, असम्बेदनशिल र अराजक प्रवृत्तिको महसुस गरे ।

यस्तो संबेदनसिल घडिमा सम्बन्धित पक्ष र आम नागरिकले होसियारी र सुझबुझपुर्ण तरिकाले आफ्ना गतिबिधी गर्न जरुरी छ । यदि प्रहरी, प्रशासन र राजनैतिक दलहरु बाट कमि कमजोरी भएका छन् भने समयमानै राज्यले त्यसको उचित अनुसन्धान र छानबिन गरि सत्यतथ्य आम नागरिक समक्ष ल्याउन जरुरी छ । सामाजिक सन्जालमा दाबी गरिए अनुसार साच्चै बिनोद शाहीको सुनियोजित तरिकले हत्या गरिएको हो भने सरकारले यो या त्यो नभनिकन निर्मम तरिकाले अनुसन्धान र छानबिन गरि दोषीलाई कानुनको कठ्घरामा ल्याउन बिलम्ब र कन्जुस्याइँ गर्नु हुदैन । जसले गर्दा एक जना होनहार युवाको त अन्त्य भयो भयो भबिष्यमा अरु कैयन युवाहरुले बिनोद शाहीको जस्तो नियती ब्यहोर्नु नपरोस् ।

यस दु:खद घडिमा मृतकको मृतात्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् ।

नेपाल सरकारले तत्काल सत्यतथ्य कुराको छानबिन गरि कोहि दोषी पाइएमा कानुनको दायरामा ल्याओस् ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech