प्रहरीले जाहेरी लिन नमानेपछि ४ दिन बित्दासमेत उठेन शव

बुधबार बिहान १० बजे नेपालगन्जमा विरोध प्रदर्शन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ प्रहरीले जाहेरी लिन नमानेपछि अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको शव ४ दिन बित्दासमेत उठाइएको छैन । हत्याको सत्य तथ्य छानबिन एवम् प्रहरीले जाहेरी नबुझेसम्म शव नपठाइने पारिवारिक स्रोतले जानकारी दिएको छ । शाहीको शव अहिले पनि घटनास्थलमै रहेको छ ।

जेठ १७ गते बेलुकादेखि हराइरहेका विनोद पाँच दिनपछि जेठ २१ गते बिहान मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर–४ कुच्चीको भिरको खोचमा मृत अवस्थामा फेला परेका थिए । हराइरहेका विनोदको शव भेटिएपछि उनको हत्या भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै विनोदका आफन्तले किटानी जाहेरी दिँदा समेत प्रहरी प्रशासनले जाहेरी दर्ता गर्न नमानेको मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि विनोदका परिवार र स्थानीयवासीले शव उठाउन दिएका छैनन् । नगरप्रमुख अम्बिका चलाउने, वडा नम्बर ४ का निर्वतमान वडाअध्यक्ष सज्जन बहादुर शाहीसहित १८ जना विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको विनोदका आफन्तले बताएका छन् । किटानी जाहेरी दर्ता गर्नुपर्ने र जाहेरी अनुसार आशंका गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ ।

गत वैशाख ३० गते स्थानीय तह निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए । सोही कारण कांग्रेसका नेता कार्यकर्ताको योजना अनुसार विनोदको हत्या भएको मृतकका दाइ बखत बहादुर शाहीले आरोप लगाएका छन् । पाँच दिनदेखि बेपत्ता रहेका किशोर मृत भेटिए पनि नगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि घटनास्थलमा एकपटक पनि उपस्थित नभएका कारण पनि शंका बढ्दै गएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै विनोदका अर्का दाजु सुशान्त विक्रम शाहीले नगरप्रमुख अम्बिका चलाउने र निर्वतमान वडाअध्यक्ष सज्जनबहादुर शाहीको योजनामा भाइको हत्या गरिएको बताए । ‘भाइको हत्यामा अछामका डिएसपी रविराज थपलिया, नेपाली कांग्रेसका महासमिति सदस्य सुरत विष्टहरुको समेत संलग्नता छ,’ सुशान्तविक्रमले भने,‘उनीहरुको नामसहितको किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी दर्ता गर्न मानेन, हुलाकबाट पठाउँदा समेत जाहेरी दर्ता भएन,’ उनले थपे,‘जाहेरी दर्ता नहुन्जेल हामी शव उठाउँदैनौं र उठाउन पनि दिँदैनौं ।
विनोदको हत्यारालाई कारबाही नगरिए देशभर आन्दोलन सशक्त रुपमा अगाडि बढाउने अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सदस्य एवम् नेपालगन्ज इन्चार्ज मर्मजंग बमले चेतावनी दिएका छन् । ‘राजनीतिक लाञ्क्षणा लगाएर बालकको हत्या हुँदासम्म राज्य गैरजिम्मेवार रुपमा अघि बढिरहेको छ,’ उनले भने,‘बालबालिकाको हत्या हुनु गम्भीर विषय हो, घटना घटेको हप्ता दिन पुग्दासमेत राज्यबाट बेवास्ता भइरहँदा न्यायका लागि सशक्त आन्दोलन गर्नेछौं ।’

यस्तै पत्रकार सम्मेलनमा नेपालगन्ज बस्दै आएका अछाम पञ्चदेवल विनायक नगरपालिकाका स्थानीयसमेत रहेका टंक धामीले पाँच दिनदेखि हराइरहेको बालकको खोजीमा प्रशासनको उदासीनताले प्रहरी प्रशासनको मिलेमतोमा हत्या भएको भन्ने आशंका पैदा भएको बताए । ‘घटनाको निष्पक्ष अनुसन्धान गर्दै यथाशीघ्र दोषीलाई पक्राउ गरी हदैसम्मको कारबाहीका लागि हाम्रो माग छ, अन्यथा आन्दोलन सशक्त बनाएर लानेछौं,’ धामीले भने ।

विनोद शाही हत्याका दोषीलाई कारबाहीको माग गर्दै भोलि बुधबार बिहान १० बजे नेपालगन्जमा प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बेपत्ता रहेका किशोर मृत भेटिएपश्चात् विनायक क्षेत्र तनावग्रस्त छ । विनायक बजारमा प्रदर्शन गर्नुका साथै मध्य पहाडी लोकमार्गमा आफन्तले चक्काजाम गर्दै आएका छन् । विनायक बजारमा चर्केको प्रदर्शन नियन्त्रणमा लिन शनिबार प्रहरीले ८ राउण्ड हवाई फायरसमेत गरेको थियो । अहिले पनि स्थानीयले सडक अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । मध्य पहाडी लोकमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरुद्ध छन् । यसका लागि यात्रुहरूले सास्ती भोगिरहेका छन् । यस्तै विनायक क्षेत्रका पसल, कार्यालयहरू पनि बन्द छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करिब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

  • २४ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech