बाँकेका स्कुलमा ५ दिन गर्मी बिदा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । बाँकेको ८ पालिकामध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले ५ दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । गर्मी बढ्नुसँगै तातो हावा (लू) चलिरहँदा विद्यार्थी लगायतलाई पठनपाठनमा असर भएपछि जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म बिदा दिइएको होे ।

केही दिन यता बढेको अत्यन्तै गर्मीका कारण विद्यालयको पठनपाठनमा पर्न गएको प्रभावलाई ध्यान दिएर जेठ २७ गतेदेखि ३१ गतेसम्म ५ दिनका लागि सबै विद्यालयहरु पठनपाठन बन्द गर्न सूचना जारी गरिएको नेपालगन्ज उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा उपसचिव गोर्ख बहादुर थापाले जानकारी दिए ।

त्यस्तै खजुरा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खगेन्द्रबहादुर मल्लले तापक्रम वृद्धिसँगै तातो हावाका कारण दैनिक जीवन कष्टकर बन्दै गएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी विपद व्यवस्थापन समितिका संयोजक एवम् खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानको निर्देशन अनुसार विद्यालय बन्द गरिएको बताए । अधिकृत मल्लका अनुसार विद्यालय बन्द भए पनि पूर्वनिर्धारित परीक्षा र अन्य प्रशासनिक काम भने हुनेछन् ।

तस्बिरः खगेन्द्र दाहाल

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech