९४ प्रतिशतले लगाए धनगढीमा कोरोनाविरुद्धको पहिलो खोप

असल शासन प्रतिनिधि

धनगढी/ सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमण विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म ९४ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । धनगढीमा कोभिड-१९ विरुद्ध १२ बर्षमाथीका उमेर समुहका ९४ प्रतिशत पहिलो मात्रा ९३ प्रतिशत दोस्रो मात्रा र १३ प्रतिशतले अतिरिक्त मात्रै खोप लगाएका छन् ।
उपमहानगरपालिकाले युनिसेफ तथा बास नेपालको सहयोगमा खोप अभियान तीव्र रूपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले बताए । धनगढी भारतसँग सीमा नाका जोडिएको तथा प्रदेश राजधानी भएकोले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले मानवीय क्षति मात्र नभई अर्थतन्त्रमा समेत क्षति पुर्याको स्मरण गर्दै खोप अभियानमा तिव्रता दिएको उनले बताए ।
धनगढी भित्री गाउँहरुमा घुम्ती खोप सेवा, घरदैलो तथा माइकिङ गरेर कोरोना संक्रमण विरुद्धको खोप अभियान अन्तर्गत शिविर सञ्चालन भइरहेका छन् । उक्त खोप अभियानलाई सफल पार्न बास नेपालले स्वयंसेवक तथा महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन र माइकिङ गरेर सहयोग गरिरहेको शाखा प्रमुख बोहराले बताए ।
धनगढीमा कुल एक लाख ८७ हजार ३४१ जनसंख्यामा १२ वर्षमाथिको एक लाख ४३ हजार ९८४ जना लक्षित समूह रहेको छ । जसमा पहिलो मात्रा एक लाख ३५ हजार १९६ जना, दोस्रो मात्रा एक लाख ३४ हजार ५२ जना र अतिरिक्त मात्रा २५ हजार ५६० जनाले खोप लगाइसकेका छन् । अहिले पनि कोरोना विरुद्धको खोप लगाउने कार्य धनगढीमा जारी रहेको बताइएको छ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech