बाल संरक्षणसँगै लागु औषध नियन्त्रणको सवाल सम्बोधन गर्न माग

असल शासन प्रतिनिधि

बर्दिया/बाल संरक्षणका लागि लागु औषध नियन्त्रणको सवाल सम्वोधन गर्न माग गरिएको छ ।

बाल संरक्षणका सवालमा कार्य गरिरहँदा लागु औषध बिरुद्ध सचेतनाका कार्य नगर्दा बालबालिका समेत लागु औषधको जोखिममा पर्न सक्ने सम्भावना रहेकाले सो तर्फ ध्यान दिन जरुरी रहेको बताईएको छ ।

प्लान ईण्टनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियामा सञ्चालित बाल संरक्षण कार्यक्रमको सार्वजनिक परीक्षणमा सहभागिहरुले सो माग गरेका हुन् ।

बर्दिया जिल्लाको मधुवन, बारबर्दिया लगायतका पालिकाहरुमा लागु औषधको बिगबिगि व्यापक रुपमा बढिरहेको उल्लेख गर्दै स्थानीयहरुले बाल संरक्षणका कार्य सँगै लागु औषध बिरुद्धका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिएका थिए ।

स्थानीय मोनिका थारुले बाल अधिकारका सवालमा काम गरिरहँदा लागु औषध बिरुद्ध पनि कार्य गर्न आवश्यक देखिएको बताईन् ।

ठाकुरबाबा स्थित बाल क्लबकी ईन्दिरा जैशीले बाल श्रम बिरुद्ध कार्य गर्न जरुरी रहेको उल्लेख गरिन् । बालबालिका र महिलाहरुका लागि बजेट कम बिनियोजन भएको उनको गुनासो रहेको थियो ।

बारबर्दिया वडानं १० की निर्मला चौधरीले बाल बिबाह गर्दैनौं भनेर प्रतिबद्धता १८ सय घरधुरीबाट लिएको बताईन् ।

महिला तथा बालबालिका शाखा, ठाकुरबाबा नगरपालिका बर्दियाकी प्रमुख गोगनसरा आचार्यले  घटना व्यवस्थापनमा चुनौती भएको बताईन् । उनले उद्धार पछिको पुनस्र्थापना कसरी गर्ने भन्ने चुनौती रहेको उल्लेख गरिन् ।

ढोडरी बर्दियाका केशव नेपालीले लागुऔषध नियन्त्रणमा केन्द्रीत हुनुका साथै मोवाईलको लतबाट बालबालिकालाई मुक्त गर्नु पर्ने बताए ।

बर्दियाको गुलरियामा सम्पन्न सार्वजनिक परीक्षणमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बि.क.ले कार्यक्रमको प्रगति प्रस्तुत गरेका थिए भने सार्वजनिक परीक्षक बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सार्वजनिक परीक्षणको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मधुवन नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख ईन्द्रा चुनाराले सबै वडाहरु समेटेर बाल संरक्षणका कार्य गर्नुपर्ने बताईन् ।

कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।

  • १ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech