सामाजिक सद्भावकालागि नेपालगन्जमा ऐक्यबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नेपालगन्जमा सामाजिक सद्भावका लागि सामुहिक ऐक्यवद्धता गरिएको छ ।
नागरिक समाजका तर्फबाट सामाजिक सद्भाव कायम राख्न नेपालगन्जको बिपि चौकमा ऐक्यबद्धता कार्यक्रम आयोजना गरिएको हो ।


गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखा, बास नेपाल, अप्टिमिष्ट क्लब अफ नेपालगन्ज र सामाजिक सद्भाव समिति नेपालगन्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालगन्ज स्थित विभिन्न धर्मका धर्मगुरुहरु, सामाजिक अभियन्ता, विभिन्न पेशा ब्यवसायी, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका संयोजक तथा बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले सामाजिक सद्भावको नमुना शहर नेपालगन्जमा कसैले पनि सद्भाव खल्बल्याउन नसक्ने बताए । कुनै एउटा धर्मका व्यक्तिलाई अप्ठेरो पर्दा अन्य सबै धर्मका ब्यक्तिहरु एकजुट भएर सहयोग र समर्थन गर्ने सद्भावको बेजोड नमुना नेपालगन्जमा रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरीले कसैले सद्भाव खल्बल्याउन खोज्दैमा सद्भाव नखल्बलीने बताए । उनले सबैलाई हल्लाको पछि नलाग्न अपिल गरे ।

गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखाका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले् कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्य, नेपाल उद्योग बाणिज्य महासँघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिब चिरन्जीबि वली, हरित अभियन्ता हेमन्तराज काफ्ले, अधिकारकर्मी आलम खान, नेपालगन्ज उपमहानगरपालिकामा वडा नम्बर ४ का निर्वतमान अध्यक्ष सफिक बेहना, रमेश राज रेग्मी लगायतले मन्तब्य सहित ऐक्यबद्धता जनाएका थिए । कार्यक्रमको सहजिकरण साहिल अन्सारीले गरेका थिए ।

  • ३ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech