भारतीय क्षेत्रमा नेपाली महिलामाथि सामूहिक बलात्कार

असल शासन प्रतिनिधि

दाङ/नेपाल–भारत सीतावर्ती दाङ देउखुरीको भारतीय क्षेत्रमा राजपुरका दुई नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।

किनमेलका लागि भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका एक युवती र एक महिला भारतीय नागरिकहरुले आइतवार दिउँसो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बलात्कार गर्नेहरूलाई भारतीय प्रहरीले पक्राउ गरी कारबाही थालेको दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले जानकारी दिएका छन् ।

राजपुरका महिलाहरू नेपालबाट भारतको मनीपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जङ्गलमा भारतीय युवाको समूहले बलात्कार गरेको डीएसपी रिजालले बताए ।

६ जना महिला भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएका र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउँदै सामान लुटपाट गरेको प्रहरीको भनाइ छ ।

पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले त्यो घटना भारतीय प्रहरीले अनुसन्धान कार्य अघि बढाएको जानकारी आफूहरूलाई प्राप्त भएको डीएसपी रिजालले बताएका छन् । पीडित नेपाली पक्षले भारतीय प्रहरीमा जाहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चार जना पक्राउ गरेको जानकारी दिएको डीएसपी रिजालले बताए ।

नेपाल–भारत सीमा क्षेत्र राजपुरका धेरै बस्तीका मानिसहरू अहिले पनि किनमेलका लागि जङ्गलको बाटो हुदै भारतीय बजारमा जानुपर्ने बाध्यता छ ।

  • १३ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech