भेरी अस्पतालमा बेथितिः मान्छे अन्तै कागजमा अस्पताल उपस्थित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको भेरी अस्पतालका चिकित्सकहरुले काम अन्तै गर्ने अनि पैसा चाहिँ अस्पतालको खाने भेटिएको छ । धेरै जसो डाक्टर र नर्सले अग्रिम हाजिरी गरेर निजी क्लिनिकमा समय दिने अनि स्वास्थ्य सेवालाई व्यापार बनाउँदै अस्पतालमा आउने बिरामीलाई निजी क्लिनिकमा जान बाध्य पारिरहेका छन् ।

उक्त कुरा जिल्ला प्रशासन कार्यालयले गरेको छड्के जाँचबाट प्रष्ट भएको छ । डाक्टर सुरेश कुमार नागले समय आफ्नै अस्पतालमा दिने अनि तलब चाहिँ भेरी अस्पतालको खाने विषयमा समाचार प्रकाशन भएपछि प्रशासन कार्यालयले बिहीबार सवा दश बजे अस्पतालमा गरेको छड्के जाँच गरेको थियो । ३ सय ७८ जना कर्मचारी कार्यरत उक्त अस्पतालमा २ सय ९० जना छड्केमा परेका छन् । जसमध्ये सात जनाले अग्रिम हाजिरी गरेको पाइएको छ ।

अग्रिम गर्नेमा डाक्टर निर्मल शाक्य, डा. सुरेशकुमार नाग, चार जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगी रहेका छन् । त्यस्तै शाक्यको हाजिरीको माथि टेप टाँसिएको छ ।

छडेक अनुगमन पश्चात् प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरीमा व्यवस्थापन कमजोर देखिएको बताए । प्रजिअ खत्रीले भने ‘कोहिले अग्रिम हाजिर गरेका छन् । कोहिले हाजिरी नै गरेका छैनन् । अस्पताल प्रशासनले कडाई गर्न नसकेको देखिन्छ ।’

कर्मचारीले मन लागेको बेला हाजिरी गर्ने गरेको देखिन्छ । जुनसुकै समयमा आएर पहिलाको या अग्रिमसमेत हाजिरी गर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले अग्रिम हाजिरी र गयलका विषयमा अस्पताल प्रशासनसम्बद्धलाई बोलाएर स्पष्टीकरण सोध्ने जनाएको छ ।

  • २४ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech