रुपान्तरण कक्षा प्रभावकारी भएको सरोकारवालाहरुको निष्कर्ष

असल शासन प्रतिनिधि

धनगढी / मानव विकास भएमा मात्रै धनगढीको परिवर्तन सम्भव हुने भन्दै बालवालिकाहरुमा लगानी गर्न धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाले अपिल गरेकी छिन् ।
युनिसेफ नेपालको सहयोग, धनगढी उपमहानगरपालिकाको समन्वय तथा बास नेपालको सहजिकरणमा आज सम्पन्न आर्थिक शसक्तिकरणका लागि सरकारी सामाजिक सुरक्षा प्रणालीमा पहुँच बिषयक सरोकारवालाहरुसँग एक दिने अभिमुखिकरण कार्यक्रममा उपप्रमुख रानाले यस्तो बताएकी हुन् । बिद्यालय बाहिर रहेका, आमा बुवा गुमाएका, बाल विवाहको जोखिममा रहेका र बिपन्न तथा गरिब परिवारका किशोरीहरुको सहभागितामा २१ दिन चलेको रुपान्तरण कक्षा समापन पश्चात सहभागि किशोरीहरुको दिगो ब्यवस्थापनका लागि छलफल गरिएको हो । बैठकमा बोल्दै उपप्रमुख रानाले समाज परिवर्तन जरुरी रहेको बताउदै युनिसेफ र बासले सञ्चालन गरेको रुपान्तरण कक्षा प्रभावकारि रहेको बताईन् । उनले यस्ता बालवालिकाहरुका लागि नगरपालिकाबाट गर्न सक्ने सम्पूर्ण कार्यहरु गर्ने प्रतिबद्धता गरिन् ।


कार्यक्रममा युनिसेफ नेपाल काठमाण्डौंका बाल संरक्षण अधिकृत उपमा मल्ल र युनिसेफ नेपाल नेपालगन्जका बाल संरक्षण अधिकृत कुंगा सन्दुप लामाले युनिसेफले २०३० सम्म बिश्व भरीका सबै बालवालिकालाई वाल विवाह मुक्त गर्ने लक्ष्य अनुरुप अगाडी बढेको बताए । उनले सबै वालवालिका शिक्षीत भएमा मात्रै वाल विवाह अन्य हुने बताउदै सबैले वालवालिकाको अनिवार्य शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको खुल्ला छलफल बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले वडा भित्र रहेका सबै बिद्यालयहरुमा स्नातक तह सम्म निशुल्क गरिएको बताए । उनले कुनै पनि बालवालिका शिक्षा बाट विमुख हुन नपरोस भन्ने उद्धेश्यले यस्तो गरिएको बताए । उपान्तरण कक्षा साच्चिकै आवश्यक र ब्यवहारि भएको बताउदै प्रभावकारी कक्षा सञ्चालनका लागि धन्यबाद ज्ञापन गरे । यसैगरी बैठकमा वडा नम्बर १२ का अध्यक्ष शेर बहादुर महरा, ७ का अध्यक्ष मोतीराम राना, ८ का अध्यक्ष जोगराम चौधरी र १४ कार्यपालिका सदस्य चक्र नेपालीको उपस्थिती रहेको थियो ।


यसैगरी बैठकमा बोल्दै धनगढी नमुना माबिका प्रधानाध्यापक लक्ष्मण दत्त भट्ट, शिव माबिका नन्दलाल राना, शिव शंकर आधारभुत बिद्यालयका लक्ष्मणलाल ओझा र नगर स्तरीय वाल क्लब सञ्जालका अध्यक्ष लक्ष्मी जोशीले रुपान्तरण कक्षाको प्रशंसा गरेका थिए । बैठकमा रुपान्तरण कक्षामा गरेको अध्यापनका बिषयमा सहजकर्ता बसुन्धरा प्रसाद भट्ट, प्रमिला भट्ट र दिपिका भट्टले जानकारी गराएका थिए । भने सिकेको शिपका बिषयमा रुपान्तरण कक्षाका सहभागि किशोरीहरुले अनुभव आदान प्रदान गरेका थिए ।
परियोजना संयोजक हेमराज भट्टले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको बैठकमा रुपान्तरण कक्षाको उद्धेश्य, उपलब्धी लगायतका बिषयमा कार्यक्रम अधिकृत रबिन्द्र बोहराले प्रस्तुतीकरण गरेका थिए । बैठकमा २५ जनाको सहभागिता रहेको थियो । बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिमका १५ ओटा पालिकामा रुपान्तरण कक्षा सञ्चालन गर्दै आएको छ ।

  • १ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech