बालवालिकाका सवालमा चन्दननाथ नगरपालिकाको प्रतिबद्धता

असल शासन प्रतिनिधि

जुम्ला / चन्दनाथ नगरपालिका जुम्लामा खेल मैदान र खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने प्रतिबद्धता गरिएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालले साउन ७ गते चन्दननाथ नगरपालिका जुम्लामा आयोजना गरेको पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिबद्धता  गरिएको हो ।
जनप्रतिनिधि, वाल क्लब र युवा क्लबका पदाधिकारीहरु बिचमा भएको अन्तरक्रियामा सहभागीले योजना तर्जुमा प्रक्रिया बालबालिकाको सहभागीता नहुने गरेकोले अनिवार्य सहभागिता गराउनुपर्ने, खेलकुदको क्षेत्रको विकास हुन नसकेको, बिधालय छाड्ने र लागू औषध दुर्व्यसनी तर्फ युवाहरुको आकर्षण बढीरहेकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने, समाजिक संजालको गलत प्रयोग गर्ने लगायतका समस्याहरु तर्फ तत्काल पालिकाले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रियामा सहभागीको प्रश्नको जवाफ दिदैँ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छेत्र बहादुर बुढथापाले बालबालिकामा देखिएका समस्या समाधान गर्न बाल क्लब, युवा क्लव, स्थानिय साझेदार संस्थाहरुसँग सँगै काम गर्ने बताए । आगामी दिनमा पालिकाले योजना तर्जुमा प्रकृया तथा पालिकाका हरेक कार्यक्रममा अनिवार्य सहभागीता गराउने उनले प्रतिबद्धता गरे। यसैगरी वडा नम्बर १ का अध्यक्ष तिलक प्रसाद न्यौपानेले योजना तर्जुमा प्रक्रियामा बालबालिकाको सक्रिय सहभागिता गर्न नसकिए पनि आफू निर्वाचित भएर आइसके पछि बाल क्लबका पदाधिकारीहरुसँग योजना माग गरेको बताए । त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष रतन बहादुर खत्रीले आगामी दिनमा हरेक कार्यक्रममा बालबालिकाको अनिवार्य सहभागीता गराउने प्रतिबद्धता गरे । यसै गरि वडा न ४ का अध्यक्ष नमराज देवकोटाले पालिकामा सुविधा सम्पन्न खेल्कुद मैदान र खेल प्रशिक्षण केन्द्रको निर्माण गर्न आवश्यक पहल गर्ने बताए ।
नगरपालिकाको कार्यवाहक मेयर रामदेवी  खडका, ९ ओटा वडाका अध्यक्षहरु, विषयगत शाखा प्रमुखहरु र बाल क्लब तथा युवा क्लबका पदाधिकारीहरु सहभागी भएको अन्तरक्रियामा वार्षिक योजना तर्जुमा गर्दा र कार्यान्वयन गर्दा युवा र बालबालिकाको अनिवार्य सहभागीता गराउने, युवाहरूलाई उद्धमशिलतामा जोड्न प्रोत्साहन दिने कार्यक्रम तर्जुमा गर्ने, पालिका भित्र जोखिममा रहेका बालबालिकाको यथासक्य संरक्षण गर्ने, वडा र नगर स्तरमा गठन भएका बाल क्लबहरुलाई सशक्तीकरण गर्दै लैजाने, बालबालिकामा देखिएका, लागू औषध दुर्व्यशनी, सामाजिक संजालको दुरुपयोग, बाल विवाह जस्ता समस्याहरुको न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम संचालन गर्ने र बालबालिकामा देखा परेका समस्याको समाधान पालिकाले योजना तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । अन्तरक्रिया कार्यक्रमको सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • ९ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech