बिमाको लोभमा आफ्नै पतिको सवारी दुर्घटना गराई हत्या

असल शासन प्रतिनिधि

बाँके/ बाँके कोहलपुरकी एक युवतीले २ करोड ५० लाख रुपैयाँको जीवन बीमा रकम लिनका लागि आफ्नै पतिको सवारी दुर्घटना गराई हत्या गराएको खुलेको छ ।

२०७८ वैशाख २ गते मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका ११ बस्ने सर्जन विकलाई मिनी बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । बिमा रकम लिने उद्धेश्यले उक्त दुर्घटना नियोजित रूपमा गराइएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले उक्त हत्यामा संलग्न रहेको आरोपमा मृतककी पत्नी २१ वर्षकी सपना मल्ल, स्याङ्जा वालिङ ६ घर भई हाल बाँकेले कोहलपुर ११ बस्ने ३१ वर्षीय सन्जीव अर्याल, कोलहपुर १५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका ८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर ११ का ३८ वर्षीय दीपक केसी र कोहलपुर १ की २१ वर्षीय आरती भन्ने ललिता सापकोटालाई विभिन्न मितिमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

गत बैशाख २ गते भे १० प १७२७ नम्बरको मोटरसाइकलमा सवार विकलाई बैजनाथपुर ६ लालपुरमा भित्री सडकमा विपरीत दिशाबाट आइरहेको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिएको थियो । उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनापछि मिनीबस चालक टोपबहादुर राना क्षेत्री सवारी दुर्घटना गराएको कसूरमा ३० दिन कैद र २ हजार रुपैयाँ जरिबाना तिरेर निस्किएका थिए । तर, उनी बाहिर आएपछि मृतक विकको जीवन बीमा वापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्सबाट लिएर उनकी पत्नीसहित पक्राउ परेका व्यक्तिहरूले बाँडफाड गरी लिएको भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

त्यसक्रममा एक महिना अघि मात्र विवाह गरेकी आफ्नै पत्नी सपनासहितका व्यक्तिहरूले जीवन बीमावापतको रकम लिनकै लागि उनको नियोजित ढंगले हत्या गरेको खुलेको प्रहरीको दाबी छ ।

घटनाक्रम :-

सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवनबापत २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो । मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् । तर नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो । रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो ।

दुर्घटनामा सर्जनको मृत्यु भए पनि सपना मृत्यु संस्कारमा सहभागी भइनन् । त्यसपछि घटना झनै शंकास्पद देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । त्यसो त बैंक खाता खोल्दादेखि नै घटना शंकास्पद देखिएको अनुसन्धानले खुलेको छ । मृतक सर्जन र सपना श्रीमान्-श्रीमती भनिए पनि लामो समयदेखि सम्पर्कमा नरहेको अनुसन्धानबाट खुलेको सीआईबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

२०७७ साल फागुन २८ गते उनीहरू विवाह दर्ताका लागि गए पनि सर्जनको उमेर नपुगेका कारण त्यसै फर्किएका थिए । त्यही दिन नै सर्जन र सपनाको पहिलो पटक भेट भएको पनि अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको केही दिनपछि चैत २ गते बिबाह दर्ता भएको देखिएको छ । तर विवाह दर्तापछि भने भेट भएको थिएन ।

सपना मल्लको खातामा आएको २ करोड ५० लाख पनि भागबन्डा गरिएको थियो । उक्त रकममध्ये सञ्जीवले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाकी आमा छविकुमारी खत्रीले १७ लाख ४६ हजार र सपनाले ८६ लाख ८९ हजार लिएको अनुसन्धानमा खुलेको छ ।

सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गराएका थिए । सामान्य मजदुरी गर्ने सर्जनको पेसा र वार्षिक आयको रकमले बिमाको वार्षिक शुल्क ५ लाख ४० हजार तिर्न नसक्ने देखिएको र केवाईसीमा पनि वार्षिक आम्दानी २ लाख स्वघोषणा गरेको प्रहरीको भनाइ छ । बिमाको पहिलो शुल्क पनि सञ्जीवलै नै तिरिदिएका थिए । वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बिमा गर्न सक्ने भए पनि सर्जनको नाममा गरिएको बिमा भने त्यसअनुरूप थिएन । श्रीमती भनिएका सपना र सर्जनबीच विवाह दर्तापछि भेट नभए पनि सञ्जीव र सपनाबीच भने पटक-पटक भेट भएको पाइन्छ । यस घटनामा बिमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको छ । दुर्घटनामा खाँकै मोटरसाइकल प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ ।

आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको देखिन्छ । सर्जनको दुर्घटनामा मृत्यु भएको कुरासमेत सञ्जीवले नै सपनालाई बताएका थिए । घटनापछि उनी विदेश जाने योजनामै थिइन् । गत साउन ९ गते दिल्ली हुँदै बाहिर जाने क्रममा उनलाई विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको हो ।

सपनाविरुद्ध मृतकसँग विवाह गरी बिमाबाट २ करोड ५० लाख लिएको कसुरविरुद्ध मुद्दा चलाइने भएको छ । त्यस्तै स्याङ्जाका सञ्जीवविरुद्ध प्रतिवादी सपना मल्ललाई प्रलोभनमा पारी मृतक सर्जनसँग विवाह गराएको र बिमाबापत ८० लाख रुपैयाँ लिएको कसुरमा मुद्दा चलाइने भएको छ । सबै आपराधिक लाभ हुने गरी सहभागी भएको आधारमा घटनाको मुख्य योजनाकार उनी नै भएको देखिन्छ ।

त्यस्तै मिनीबस चालक टोपबहादुर भने सपनालाई विदेश लाने एजेन्ट चिनाइदिएको र ठक्करपछि घाइते भएका सर्जनलाई अस्पताल नलगी फरार भएको देखिन्छ । वारदातको समय(राति ११ बजे) उनले बस लिएर जानुपर्ने कुनै स्पष्ट आधारसमेत नदेखिएको पनि सीआईबीले जनाएको छ ।

त्यस्तै दीपक केसीले सपनालाई बिमा रकम भुक्तानी लिन सपनालाई काठमाडौं आउन सघाएको र सपनाले पाएकोमध्ये ६० लाख रुपैयाँ लिएका थिए । उनीविरुद्ध पुरानो कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएकोसमेत अभियोग लागेको छ । ललिता सापकोटाले भने बिहे गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर सपनालाई सञ्जीवसँग चिनजान गराएकी थिइन् । उनी सञ्जीवको प्रेमिकासमेत भएको खुलेको छ । त्यस्तै बिमा अभिकर्ता खाँ पनि घटनामा स‌ंलग्न भएको देखिएको सीआईबीले जनाएको छ ।

  • १४ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech