धनगढी कोभिड-१९ पुर्ण खोपयुक्त पालिका घोषणा हुदै

असल शासन प्रतिनिधि

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकालाई कोभिड १९ पुर्ण खोपयुक्त पालिका घोषणा गर्ने निर्णय भएको छ ।
साउन २५ गते बुधबार धनगढीमा सम्पन्न कोभिड–१९ पुर्ण खोपयुक्त पालिका घोषणा बिषयक पालिका स्तरीय समन्वय बैठ्कले सो निर्णय गरेको हो ।


बैठकले कोभिड–१९ पुर्ण खोपयुक्त पालिका घोषणा कार्यक्रम निर्देशिका जारी गरेको छ । घोषणा अभियानका लागि निश्चित मापदण्डहरु तयार गरि निर्देशिका जारी गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले जानकारी दिए । लक्षीत जनसंख्याको ९५ प्रतिशत व्यक्तिहरुले पुर्ण मात्रा लगाएको हुनुपर्ने घोषणा कार्यक्रम निर्देशिकामा उल्लेख छ । यस्तै सो तथ्याङ्क विद्युतिय दर्ता प्रक्रियामा अध्यावधिक भएको हुनुपर्ने, सम्बन्धीत वडाको स्वास्थ्य संस्था अन्तरगतका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाको सहयोगमा गरिएको घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कलाई वडास्तरीय खोप समन्वय समितिले विश्लेषण गरि पालिका स्तरिय पुर्णखोप समन्वय समितिलाई सिफारिस गरि पठाउनुपर्ने उल्लेख गरेको छ । पुर्ण खोप वडा घोषणाका लागि पालिका पुर्णखोप समन्वय समितिले सुलभ नमुना सर्वेक्षण गरी सम्बन्धि वडालाई पुर्ण कोभिड खोपयुक्त वडा घोषणा गर्ने उल्लेख गरेको छ ।


बैठकमा खोपको विवरण विद्युतिय दर्ता प्रक्रिया मार्फत गर्नुपर्ने बिषयमा समेत छलफल भएको थियो । घोषणापूर्ब धनगढी उपमहानगरपालिकाका सबै वडाहरुमा स्वयंसेवकहरु मार्फत टोलटोलमा अभियानहरु सञ्चालन गर्ने र विद्धुतिय दर्ता प्रक्रिया लाई समेत पुर्ण गर्ने निर्णय भएको छ ।
उक्त अभियानका लागि स्वयंसेवक परिचालन गर्न कार्य योजना तयार गरी विभिन्न संघ संस्था र प्रदेश सरकारलाई बजेट तथा सहयोग माग गर्ने बैठकले निर्णय गरेकोछ । कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणाको अभियानलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन बैठकले ९ सदस्यीय स्वास्थ कार्यक्रम योजना तर्जुमा समन्वय समिति गठन गरेको छ ।


उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको अध्यक्षतामा भएको समन्वय बैठकमा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी, १९ वटै वडा स्वास्थ्य चौकीका इन्चार्ज, विभिन्न बिषयगत शाखाका प्रमुख, सम्बन्धि क्षेत्रमा काम गरिरहेका संघ संस्थाका प्रतिनिधि तथा लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । बैठक धनगढी उपमहानगरपालिकाको सहकार्य, युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा सम्पन्न भएको थियो ।

  • २६ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech