पुलिसको गाडी पल्टियो

असल शासन प्रतिनिधि

रुकुम/ रुकुम (पूर्व) मा पुलिसको गाडी पल्टिदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगंगा गाउँपालिकाको ११ नम्बर वडा तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् ५ नम्बर वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडीमा चालकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी र अन्य गरी ६ जना सवार थिए । नेपाल प्रहरीका डिएसपी प्रकास डाँगी र सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठसहित अन्य ५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । सशस्त्र प्रहरीका डिएसपी पनि प्रहरीकै गाडीमा सवार हुनुहुन्थ्यो ।

घाइतेलाई उद्धारको लागि हेलिकप्टर बोलाइएको छ । बिरामीलाई अहिले हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ दखिउ डाँडाँमा यम्बुलेन्समार्फत लगिएको प्रवक्ता घर्तीले बताउनुभयो । जिल्लाबाट अन्य प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ । फोनले काम नगरेको कारण पूर्ण विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।

  • २८ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech