एक प्रश्न : जसले ल्यायो यस्तो परिवर्तन

रबिन्द्र बोहरा

मुगु/भाद्र १५, एक १४ वर्षीय बालक रुप बहादुर बुढाले भाद्र ७ गते खत्याड गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालालाई एक अनौठो प्रश्न गरे र भने म वडा नं. ४ बाट वडा पुल तरेर खत्याड खोलाबाट गाउँपालिका आउँदा सधैं नाक बन्द गरेर आउनु पर्छ के तपाइँहरुलाई मानव मलमूत्रको गन्ध आउँदैन ?

यो प्रश्न सुन्दा खत्याड गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएत ११ वटै वडाका वडा अध्यक्षहरु गदगद हाँसे । त्यसको जवाफमा गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले सार्वजनिक शौचालय निर्माण गर्नु पर्ने आवश्यकता औंल्याए ।

भोलि पल्ट भाद्र ८ गते बिहान हेर्दा सबै वडा अध्यक्षहरु कोटो, कोदालो र हसिया समातेर सोही बाटोमा भेटिए । उक्त स्थानमा के भैरहेको छ भनी बुझ्दै जाँदा बाटो सफा गरिरहेको र बाटोमा भएको झारपात निकालेर खुल्ला गर्न लागेको अध्यक्ष अज बहादुर शाहीले बताए ।

यसरी एक बालकले गरेको प्रश्नले सम्पुर्ण जनप्रतिनिधिहरु स्वंय सरसफाइमा जुटे । युनिसेफको सहयोगमा बास नेपालले आयोजना गरेको स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागीता भन्ने अन्तरक्रिया कार्यक्रममा उक्त प्रश्न गरिएको थियो ।

  • १५ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech