महाकालीमा दलितहरुलाई दुर्व्यवहार, पुजारीले गरिदिएनन् दलितहरुको पुजा

असल शासन प्रतिनिधि

महेन्द्रनगर । महाकाली नदीको भुजेला घाटमा पुजारीले तीज ब्रत बसेका दलित समुदायका महिलाहरुको पूजापाठ गर्न अस्वीकार गरेका छन् । गोत्र सोधेका पुजारीले उनीहरु दलित समुदायका भएको थाहा पाएपछि पूजापाठन गर्न नसकिने बताएका हुन् ।

दलित भएको थाहा पाएर पूजापाठ गर्न नमानेपछि केही समय महिलाहरुसित विवाद पनि भएको छ । विवाद बढेपछि नजिकबाट अन्य ब्रतालु पनि आउन थालेपछि पुजारी पूजास्थल छाडेर भागेका छन् ।

पूजारीले जातीय विभेद गरी पूजापाठ गर्न अस्वीकार गरेपछि उनीहरु प्रहरी बोलाउन नजिकको टेन्टसम्म पुगेका छन् । प्रहरी नआउँदै पूजारी त्यहाँबाट भागेर गएका हुन् ।

‘पहिला त्यहाँ एक जना आन्टीलाई ती पूजारीले म पूजा गरि दिन्छु सबैलाई बोलाएर ल्याउनु भन्यो, वहाँले आएर त्यहाँ खाली छ, म पूजा गरि दिन्छु भन्दैछन् त्यहीं जाउ भनेपछि त्यहाँ गयौ’ भीमदत्त नगरपालिका ५ वनगाउँकी सन्जु नेपालीले भनिन्,‘त्यहाँ गई सकेपछि पुजारीले गोत्र सोध, हामीले पनि भन्यौ, पुजारीले के हो के हो भने, त्यसपछि मैले हामी दमाई हौ भनेपछि म पूजा गर्दैनौ भनेर कराउन थाले ।’

पुजारीले पूजा गर्न अस्वीकार गरेपछि नेपाली लगायतका महिलाहरुले किन नगर्ने भनेर पुजारीलाई सोधेका छन् । पुजारीले भगवानले नै जात छुट्याएकाले आफूले नगर्ने भन्ने जवाफ दिएका छन् । त्यसपछि पूजारी र महिलाहरुबीच विवाद भएको भिडियो समेत बाहिर आएका छन् ।

पुजारीले पूजापाठ गर्न नमानेपछि महिलाहरु उनीसित आक्रोशित भएका छन् । त्यसपछि उनीहरु प्रहरी बोलाउन गएपछि पुजारी भागेका छन् ।

‘विवाद भएपछि अन्यत्रबाट पनि मान्छे आए, हाम पनि प्रहरी बोलाउन गयौ, त्यसपछि ती एकाएक त्यो ठाउँ छाडेर भागे’ नेपालीले भनिन् ।

हरि तालिका तीजको ब्रत बसेका महिलाहरु ऋषि पञ्चमीमा नुहाउन र पूजापाठका लागि महाकाली नदी जाने गरेका छन् । ऋषि पञ्चमीका दिन महाकाली ब्रतालु महिलाको भीड लाग्ने गरेको छ । यस पटक भाइरल रोड नजिक ब्रतालु महिलाका लागि स्नान गर्न व्यवस्था गरिएको छ ।

पुजारीले पूजापाठ नगरी विभेद गरेपछि नेपाली लगायतले उनी विरुद्ध जातीय भेदभाव तथा छुवाछुत विरुद्धको (कसुर र सजाय) ऐन अनुसार कारवाही प्रक्रियामा जाने बताएका छन् ।

‘सल्लाह गरेर भोलि प्रहरीम जान्छौ’ उनले भनिन् । उनका अनुसार विभेद गरिएका ब्रतालु महिलाहरु वनगाउँ, ऐठपुर, भगतपुर लगायतका छन् ।

पूजापाठ नगरी पुजारी भागेपछि नजिकका अर्का पुजारीले पूजापाठ गरि दिएका छन् ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech