प्रशासनिक भवन अलपत्र

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको जानकी गाउँपालिकामा निर्माण हुँदै गरेको प्रशासनिक भवन ७ महिनादेखि अलपत्र परेको छ । निर्माण शुरु भएको १९ महिना बितिसक्दा पनि ५० प्रतिशत मात्र कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । ४ करोड २२ लाख ८४ हजार ७ सय १० रुपैयाँ ४२ पैसाको लागतमा गाँउपालिकाको भवन निर्माण अगाडि बढेको हो ।

थेगिम, श्री कृष्ण, निशान जेभि कोहलपुर ११ र जानकी गाउँपालिका बीच आगामी फाल्गुन अन्त्यसम्म भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न हुने गरी गत कात्तिक २६ गते दुई पक्षीय सम्झौता भएको थियो । आगामी फाल्गुनमा सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य रहेपनि निर्माणको गति हेर्दा आगामी ६ महिनामा कार्य सम्पन्न हुनुमा शंका छ ।

सम्झौताको म्यादभित्र कार्य सम्पन्न नगरेमा ठेक्काको धरौटी जफत गरि ठेक्का रद्द र फर्म कालोसूचीमा राख्ने चेतावनी समेत गाउँपालिकाले दिएको छ ।

निर्माण कम्पनीले जवाफ स्वरुप नेपाल सरकारको आत्याधिक मूल्य वृद्धिको कारण निर्माण सामग्रीको अभाव, इन्धनको मूल्य वृद्धि र नेपाल निर्माण व्यवसायी महासंघले ‘निर्माण बिदा’ को लागि विभिन्न निकायहरुमा पत्राचार गरेकोले निर्माण कार्य केही समय रोकिएको जनाएको थियो ।

निर्माण कम्पनीले गत साउन पहिलो हप्तादेखि निर्माण कार्य पूर्ण रुपमा सुचारु गर्ने र तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित ‘संशोधित कार्य तालिका’ गाउँपालिकालाई पेश गरेको थियो ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech