‘सम्मेलनलाई युवाहरुले विशेष महत्वका साथ लिएका छन्’

असल शासन प्रतिनिधि

गणेश बहादुर मौनी
संयोजक, सुदूरपश्चिम युवा सम्मेलन

भ्रष्टाचार विरुद्धको प्रथम सुदूर पश्चिम युवा सम्मेलनको तयारी कसरी हुँदैछ ?

सुदूरपश्चि प्रदेशमा पहिलोपटक हुन गइरहेको भ्रष्टाचारविरुद्धको प्रथम सुदूरपश्चिम युवा सम्मेलनलाई हामी सुदूरपश्चिमका युवाहरुले विशेष रुपमा लिई तीव्र तयारी गरिरहेका छौं । आजसम्मको तयारीको अवस्था हेर्दा सम्मेलनलाई सम्पन्न गर्न विभिन्न विभागहरु बनाई प्रत्येक विभागको संयोजन तोकी जिम्मेवारी बाँडफाँड गरी सबै विभागले आआफ्नो काम गरिरहेका छन् । आजसम्म तयारी हेर्दा कार्यक्रममा सहभागिताको लागि अथिति, प्रमुख अथिति, विशिष्ठ अथितिहरुको टुंगो लगाई पत्राचार भइसकेको छ । कार्यक्रममा सहभागी हुन सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आउने सहभागीहरुको लिस्ट तयार गरी पत्राचार गरिएकोे छ, हल व्यवस्थापन, सांस्कृतिक टिम व्यवस्थापन, सम्मेलनको लागि प्रचार प्रसार माइकिङ, रेडियो जिंगल प्रसारण, सामाजिक सञ्जालको माध्ययमबाट प्रचार प्रसार, प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयसँग समन्वय गर्नुका साथै आर्थिक व्यवस्थापन पक्षमा पनि दुर्त गतिमा काम भइरहेको छ ।

कति जिलाका युवाहरुको सहभागिता रहन्छ?

कैलालीको धनगढीमा हुन गइरहेको भ्रष्टाचारविरुद्धको प्रथम सुदूरपश्चिम युवा सम्मेलमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट युवाहरुको सहभागिता रहनेछ । सम्मेलनमा ५ सय भन्दा बढीयुवाहरु सहभागिता गराउने योजना रहेको छ ।

सम्मेलनका आकर्षकहरु के के हुन् ?

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक हुन गइरहेको भ्रष्टचार विरुद्धको प्रथम सुदूरपश्चिम युवा सम्मेलनलाई सुदूरपश्चिमेली युवाहरुले विशेष महत्वका साथ लिएका छन् । सम्मेलनमा भाद्र २५ गते बिहान ९ बजे बाजागाजा सहित धनगढी चौराहादेखि ओम प्यालेससम्म प्रभातफेरी गरिने छ । विभिन्न प्रकारका सुदूरपश्चिेली झाँकीहरु प्रदर्शन गरिने छन्, विभिन्न क्षेत्रमा सफल युवाहरुका अनुभवहरु आदान प्रदान गरिने छन्, भ्रष्टाचार विरुद्धमा सुदूरपश्चिम घोषणा पत्र जारी गरिनेछ भने सबैभन्दा महत्वपूर्ण भनेको नेपाल सरकारका पूर्व सचिव, पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाको युवाहरुलाई उत्प्रेरणा दिने विशेष प्रस्तुतीकरण रहने कार्यक्रम रहेको छ । सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मन्त्रीहरु र अन्य प्रदेशका विशिष्ठ व्यक्तिहरुको समेत सहभागिता रहनेछ ।

सम्मेलनलाई निरन्तरता दिने योजना के छ ?

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार विरुद्धमा पहिलोपटक सम्मेलन गर्दैछौ । हामीले यो सम्मेलनलाई चुनौती र अवसर दुवै तरिकाले लिएका छौं । सम्मेलन सम्पन्न पश्चात् हामी सुदूरपश्चिम घोषणा पत्र जारी गर्ने छांै । घोषणा पत्रमा सरकारले अनिवार्य रुपमा गर्नुपर्ने केही जिम्मेवारीका कुराहरु पनि आउनेछन् भन्ने हामीले अपेक्षा लिएका छांै, त्यस पश्चात उक्त जिम्मेवारी बहन गर्न स्थानीय सरकारको पनि जिम्मेवारी रहने भएकोले स्थानीय सरकारको पनि सहयोग रहनेछ भन्ने आशा गरेका छौं । यसपटक घोषणा गरेका प्रतिबद्धता कति पूरा हुन सके वा सकेनन् भन्ने कुराको लेखाजोखा गर्ने उद्देश्यका साथ हर क्षेत्रमा सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सम्मेलनलाई वार्षिक रुपमा निरन्तरता दिने योजना रहेको छ ।

सम्मेलनबाट के उपलब्धि हुने अपेक्षा गर्नु भएको छ ?

सुदूरपश्मिचम प्रदेशका सबै जिल्लाबाट युवाहरुको सहभागितामा यही भाद्र २५ गते हुन गइरहेको भ्रष्टाचार विरुद्धको प्रथम सुदूरपश्चिम युवा सम्मेलनले सुदूरपश्चि प्रदेशमा भ्रष्टाचारको अवस्थाको बारेमा सबै युवाहरु जानकारी भई भ्रष्टाचारको बारेमा आवाज उठाउनेछन्, स्थानीय सरकारले सुशासन कायम गर्न अनिवार्य रुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, कार्यालयले आफूले कार्यसम्पादन गरेका कामहरुको बारेमा जानकारी गराउने, सूचना अधिकारीको व्यवस्था, नागरिक बडापत्र लगायतका पालिकाले गर्नुपर्ने कामहरुको बारेमा प्रतिबद्धता लिई कामहरुलाई निरन्तरता दिने छन्, सूचनाको हकको कार्यान्वयनमा जोड दिनुका साथै भ्रष्टाचार न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech