‘सम्मेलनले भ्रष्टाचारविरुद्ध ठूलो भूमिका खेल्ने छ’

असल शासन प्रतिनिधि

पाण्डव पुजारा
संयोजक
बास नेपाल
सुदूरपश्चिम प्रदेश समिति

भ्रष्टचार विरुद्धको प्रथम सुदूरपश्चिम युवा सम्मेलनको उद्देश्य के हो ?

सुदूरपश्चिम प्रदेशमा व्याप्त भ्रष्टाचार छ । भ्रष्टाचारले कानुनी शासन र लोकतान्त्रिक राज्यको उपहास गर्दछ । यसले समाज र राष्ट्रलाई खोक्रो बनाउँछ । भ्रष्टाचार बढ्दै गएमा देशको अर्थतन्त्र चौपट हुन्छ, विकास अबरुद्ध हुन्छ, राज्यका संयन्त्रहरु कमजोर हुँदै जान्छन् भने भ्रष्टहरुका केन्द्र बलिया भएर जान्छन् अनि देश दुर्गतीतिर लम्किन्छ । यहि पृष्ठभूमिमा देशमा भ्रष्टाचार बढिरहेको छ, संस्थागत भइरहेको छ, अधिकांश नागरिकहरु भ्रष्टहरुको प्रगति टुलुटुल हेरिरहेका छन् । जनताले भ्रष्टाचारलाई नसहने र बोल्न सक्ने गरी नीति, प्रणाली र उपायहरू अवलम्बन गर्नुपर्छ । भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संंघीय महासन्धिले भ्रष्टाचार विरुद्ध विश्वव्यापी रुपमा लड्नका लागि जोड दिन्छ । यहि पृष्ठभूमिमा रहेर बागेश्वरी असल शासन क्लब (बास) नेपालले यही भाद्र २५ गते धनगढीमा भ्रष्टाचार विरुद्ध प्रथम सुदूरपश्चिम सम्मेलन २०७९ को आयोजना गर्न लागेको हो ।

सम्मेलनको उद्देश्य भनेको असल शासन, जवाफदेहिता, पारदर्शिता, सदाचारिता र इमान्दारिताका लागि नागरिक बहस गर्ने, भ्रष्टाचारविरुद्ध सन्देश प्रवाह गर्ने, भ्रष्टाचारविरुद्ध जनमत सृजना गर्ने, भ्रष्टाचारविरुद्ध विभिन्न संघ, संस्था र निकायसँगको सहकार्य बढाउने । असल कार्यहरुको प्रवद्र्धन गर्ने । युवा सम्मेलनका माध्यमबाट भ्रष्टाचारविरुद्ध जागरण ल्याउने । भ्रष्टाचारविरुद्ध सुदूरपश्चिम घोषणा पत्र जारी गर्ने उद्देश्य रहेको छ ।

सम्मेलनमा के के हुन्छ?

भ्रष्टाचारविरुद्ध प्रथम सुदूरपश्चिम सम्मेलनमा भ्रष्टाचार विरुद्धका विभिन्न छलफलका कार्यक्रमहरु नै रहन्छन् । जसमा हामीले भ्रष्टाचारविरुद्ध व्यानर तथा प्लेकार्ड सहित एक हजार भन्दा बढी युवाहरु प्रभातफेरीमा उपस्थित हुने छन् । जुन धनगढीको चौराहदेखि मुख्यमन्त्री कार्यालयसम्म रहने छ । कार्यक्रमको उद्घाटन सत्र, विभिन्न कार्यपत्रहरु प्रस्तुतीकरण, खुला छलफल, सफल व्यक्तिका अनुभव आदानप्रदान, भ्रष्टाचार विरुद्ध सुदूरपश्चिम घोषणापत्र जारी हुनेछ । शुभकामना, धन्यवाद तथा समापन कार्यक्रम लगायत सुदूरपश्चिमको सांकृतिक झल्काउने डेउडा, थारु नृत्य तथा भ्रष्टाचार विरुद्धका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहने छन् । साथै स्वास्थ्य चेकजाँचको पनि सुविधा रहने छ ।

सम्मेलनको तयारी के कसरी भइरहेको छ ?

सम्मेलनको तयारीहरु हामी विभिन्न चरणमा तयारी गरिरहेका छौँ । विभिन्न जिल्लाबाट आउने युवाहरुको व्यवस्थापन, सम्मेलनको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल, जिंगल प्रसारण, अटो क्याम्पियन, युवासँग छलफल, सरकारी तथा गैरसरकारी संघसंस्थासँग छलफल तथा भेटघाट, गरिरहेका छौँ । यसैगरी सम्मेलनका लागि बासका स्वयम्सेवक परिचालन, अथितिहरु तथा सहभागीहरुलाई पत्राचार गरिरहेका छौँ ।

सम्मेलनबाट आशा गरिएको अपेक्षा के हो ?

पहिलोपटक भ्रष्टाचारविरुद्ध प्रथम सुदूरपश्चिम सम्मेलन भइरहेको छ । यस सम्मेलनबाट हामीले धेरै आशा र अपेक्षा गरेका छौँ । विशेषतहः आम युवाहरुमा मात्र नभई सम्पूर्ण जनमानसमा भ्रष्टाचारविरुद्ध आवाज उठाउनुपर्छ भन्ने आशा रहेको छ । अहिले समाजमा मानिसहरुले भ्रष्टाचार गरेको थाहा पाउँदा पाउँदै पनि लुकाएर राख्ने प्रवृति व्याप्त छ, अब त्यो प्रवृत्तिको अन्त्य गर्नका लागि यो सम्मेलनले ठूलो भूमिका खेल्ने हाम्रो ठूलो विश्वास रहेको छ ।

अन्तमा के भन्नु हुन्छ?

युवा देशको ऊर्जा हो । हामीमा भएको यो ऊर्जाको प्रयोग गरेर देश निर्माणमा लाग्नु पर्छ । भ्रष्टाचारीको अन्त्य गर्नु पर्छ । कतै भ्रष्टचार भएको र देखेका अनि भोगेका ठाउँमा खबरदारी गर्नु पर्छ ।
अन्तमा, सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका युवाहरुको सहभागिता रहने भ्रष्टाचारविरुद्ध प्रथम सुदूरपश्चिम युवा सम्मेलनमा सबै आम युवाहरुलाई सहभागी हुनका लागि अनुरोध गर्न चाहान्छु । र भाद्र २५ गते धनगढीको ओम प्यालेसमा भेटौँला ।

 

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech