वरिष्ठ राजनीतिज्ञ ईराकीको सम्झना

खगेन्द्र गिरि कोपिला

पञ्चायत कालको उत्तरार्धमा २०३० र ४० को दशकमा बाँके जिल्लाको राजनीतिमा तीन जनालाई निकै प्रभावशाली मानिन्थ्यो- श्री फतेहसिंह थारु, श्री मोहम्मद इकवाल इराकी र श्री चेतबहादुर थापा।
तीनै जना पढेलेखेका, निश्कलंक, सक्षम, जनतामा भिजेका, विकासप्रेमी र पञ्चायतको मान्यतामा हृदयबाटै समर्पित पञ्च मानिनुहुन्थ्यो। उहाँहरु तीन जनामा श्री फतेहसिंह थारु जीवित नै हुनुहुन्छ भने इराकी र थापा स्वर्गे भैसक्नु भयो ।

श्री फतेहसिंह थारुभन्दा एक वर्ष जेठा श्री इराकीको जन्म विक्रम संवत् १९९५ साल भाद्र २६ गते नेपालगञ्जको सुब्बा केशरी टोलमा भएको थियो। उहाँले एमए एलएलवी सम्मको अध्ययन गर्नु भएको थियो।
२०३६ सालको जनमत सङ्ग्रह सम्पन्न भएपछि पञ्चायत व्यवस्थामा समयानुकूल सुधार गर्न श्री ५ वीरेन्द्रबाट २०३७ साल जेठ ८ गते सर्वोच्च अदालतका न्यायाधीश श्री वासुदेव शर्माको अध्यक्षतामा ९ सदस्यीय संविधान सुधार सुझाव आयोग गठन गरिबक्सेको थियो। सो आयोगमा श्री मोहम्मद इकवाल इराकी पनि सदस्य मनोनित हुनु भएको थियो। आयोगका अन्य सदस्यमा श्री नरेन्द्र कुमार चौधरी, श्री रणधीर सुब्बा, श्री कमल थापा, श्रीमति कमल राणा, श्री हीरालाल विश्वकर्मा, श्री सुरेन्द्रबहादुर श्रेष्ठ र श्री ध्रुववर सिंह थापा पनि सदस्य हुनुहुन्थ्यो।

२०३८ साल जेठमा उहाँलाई श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतको सदस्य मनोनित गरिबक्सेको थियो। २०४३ जेठसम्म उहाँले सो पदमा कार्य गर्नु भयो। त्यतिखेर राष्ट्रिय पञ्चायतमा ७५ जिल्लाबाट ११२ जना सदस्य निर्वाचित भएर आउने र २८ जना श्री ५ महाराजाधिराजबाट मनोनित हुने व्यवस्था थियो। २०४६ सालको परिवर्तनपछि श्री इराकी केही समय राप्रपामा सक्रिय हुनुभयो भने केही समय राजसभाको सदस्य पनि मनोनयन हुनु भएको थियो। उहाँ बाँके जिल्लाको मुस्लिम समुदायबाट देशको व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने श्री मोहम्मद सफि खाँ पछिको दोस्रो व्यक्ति हुनुहुन्थ्यो।

अत्यन्त साधारण जीवन शैली भएका श्री इराकीको ७९ वर्षको उमेरमा २०७४ साल पुस १५ गते निधन भयो।

उहाँ बाँचेकै हुनुहुन्थ्यो भने आज ८४ वर्ष पूरा गरेर ८५ वर्षमा लाग्नु हुन्थ्यो।
सबै पक्षका मान्छेले इमानदार पञ्च भनेर सम्झना गरिरहने बाँके जिल्लाका पुराना राजनीतिज्ञ स्व. मोहम्मद इकवाल इराकीमा ८५ औं जयन्तीको अवसरमा हार्दिक श्रद्राञ्जली ।

  • २६ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech