हुम्लामा रुपान्तरण प्रभावकारी

असल शासन प्रतिनिधि

हुम्ला/ सिमकोट गाउँपालिका हुम्लामा जोखिम न्यनीकरणसँगै रुपान्तरण कक्षाको समिक्षात्मक बैठक सम्पन्न भएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा संचालित बाल संरक्षण कार्यक्रम अन्तर्गत उक्त बैठक सम्पन्न भएको हो ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुशिला रोकाय, वडा नं.४, ५, ६ र ७ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, युनिसेफका मनोसामाजिक कार्यकर्ता रुपान्तरण कक्षामा सहभागि किशोरीहरुको सहभागितामा सम्पन्न भएको बैठकमा फेब्रवरी २०२२ देखि अप्रिल २०२२ सम्म संचालित रुपान्तरण कक्षाको समिक्षा तथा गाउँपालिका भित्र रहेका विभिन्न जोखिम न्यूनीकरणका विषयमा छलफल गरिएको छ ।

बैठकमा किशोरीहरुले रुपान्तरण कक्षाबाट आफुहरुलाई समाजका हानिकारक परम्परालाई न्यूनीकरण गर्न, महिनावारी तथा किशोर अवस्थामा आउने परिवर्तनको व्यवस्थापन गर्न सहज भएको बताए ।

बैठकमा समिक्षात्मक कुरा राख्दै रुपान्तरण कक्षाले किशोरीहरुमा व्यवहारीक सीप प्रदान गरेको र उपलब्धिमूलक रहेको बताए । त्यस्तै वडा नं. ४ का अध्यक्ष प्रताप लामाले रुपान्तरण प्रभावकारी रहेको बताए भने वडा नं. ५ का अध्यक्ष चिन रावतले किशोरीहरुमा रुपान्तरण कक्षाले लजाउने बानीमा सुधार ल्याएको बताउँदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नु कुरमा जोड दिए । वडा नं. ६ का अध्यक्ष नन्द रावतले समाजका तमाम विसंगती र विकृतिलाई निरुपण गर्न रुपान्तरण जरुरी रहेको बताए ।

वडा नं.७ का वडा अध्यक्ष बलदेव शाहीले समाजमा वर्गीय विभेद रहेको र त्यसको न्यूनीकरणका लागि संघसंस्था, नेपाल सरकार र आम समुदाय एक भएर लाग्नु पर्ने सिमकोटमा विद्यमान बाल विवाहलाई न्यूनीकरण गर्न समेत जरुरी भएको बताए ।

त्यस्तै बैठकमा बोल्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुशिला रोकायले बालबालिका र किशोरीहरुका समस्या न्यनीकरण गर्नका लागि केही महत्वकांक्षी योजाना तयार गरेको बताउँदै सबै विद्यालयहरुमा किशोरीहरुका लागि सेनेटरी प्याडको व्यवस्थापन गरेको, किशोरीहरुको स्वास्थ्यलाई मध्यनजर गरी बजेट विनियोजन गरिएको बताइन भने नमुना पालिकाको रुपमा स्थापित गर्न संघसंस्थाले विभिन्न कार्यक्रमहरु तर्जुमा गर्नु पर्ने तथा सीपमूलक तालिम संचालन गर्नका लागि सहकार्य गर्न पालिका तयार रहेको बताइन् ।

बैठकमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले रुपान्तरण कक्षाले व्यवहारीक शिक्षालाई प्रवद्र्धन गर्ने तथा विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुलाई शिक्षाको पहुँच सम्म ल्याउने कार्य गर्दै आएको बताउँदै आगामी दिनमा बासले सिमकोट गाउँपालिकाको विकास र समृद्धिका लागि सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

२० जना सरोकारवालको सहभागिता रहेको बैठकको सहजिकरण बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

  • ५ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech