सीमापारि मालामाल, नेपालगन्ज बेहाल

मन भण्डारी

नेपालगन्ज/ नेपालगन्ज सहरसँगै जोडिएको सीमापारिको भारतीय बजार रुपैडियामा हरेक दिन नेपाली उपभोक्ताहरुको ठूलै भिड लाग्ने गरेको देखिन्छ । नेपाली बजार सुनसान भएको समयमा समेत रुपैडिया बजारमा ग्राहकको कहिल्यै कमी हुँदैन ।

विभिन्न चाडवाडको समयमा त झनै रुपैडिया बजारका हरेक पसलमा नेपाली ग्राहकहरुको भिड नै देखिन्छ । अहिले नेपाली समुदायमा विभिन्न चाडवाड नजिकिएसँगै सीमापारिको भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ताहरुको भिड लाग्ने गरेको छ । नेपालीहरुको ठूलो चाडबाड नजिकिँदै गर्दा अहिले बजारमा सरसामान किनमेल गर्नेको भिडभाड पनि बढ्न थाली सकेको छ । तर यता नेपाली बजार भने रुपैडियाको तुलनामा सुनसान जस्तै देखिन्छ । यस क्षेत्रकै मुख्य बजार नेपालगन्ज पछिल्लो समय छिमेकी मुलुक भारतको रुपैडिया बजारको कारण ओझेलमा परेको छ ।

नेपालगन्जका उपभोक्ताहरुको रोजाइमा रुपैडिया बजार बरेको र नेपालगन्जको व्यापार सुक्दै गएपछि नेपालगन्जका व्यवसायीले केही समय अघि आन्दोलन नै गरेका थिए । रुपैडिया बजारबाट हुने अनियमित सामान ओसारपसारलाई रोक्नु पर्ने माग राख्दै व्यवसायीहरु आन्दोलित भएका थिए । त्यति गर्दा पनि उपभोक्ताहरु रुपडिया जान छोडेका छैनन् । नेपाली बजार र रुपैडिया बजारको तुलना गर्ने हो भने केही सामानहरु रुपैडियामा केही हदसम्म सस्तो भए पनि धेरै बस्तुहरुको मूल्यमा खासै फरक नभएको व्यवसायीहरु बताउँछन् । वस्तुको गुणस्तरको कुरा गर्ने हो भने रुपैडियाको भन्दा उच्च गुणस्तरका वस्तुहरु नेपाली बजारमा पाइने व्यवसायीहरुको भनाइ छ । तर पनि नेपाली उपभोक्ताको ध्यान रुपैडिया बजारमै जानुले नेपाली बजार सुनसान जस्तै देखिन्छन् ।

नेपाली व्यवसायीहरु दिनभरि ग्राहकको बाटो कुरेर बस्ने गरेको पाइन्छ । तर सिमापारिको रुपैडिया बजारका हरेक पसलमा मान्छेको भिड कहिल्यै खाली हुँदैन । लत्ताकपडा, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने व्यक्तिहरुले रुपैडिहा बजार भरिभराउ हुन्छ । रुपैडियाको बजारभरि नै नेपालीको भिड देखिन्छ । सामान किन्ने उपभोक्ताहरुको भिडले गर्दा पसलमा खुट्टा टेक्ने ठाउँसम्म पाइँदैन । रुपैडिहा बजार पूरै नेपाली उपभोक्तामा निर्भर छ । यता नेपालगन्जका बजारका पसलमा भने मुस्किलले दिनको ४÷५ जना ग्राहक आउँदा पनि व्यापारीका लागि देवतै आए जस्तै हुन्छ ।

नेपाल सरकारले कानुनी रुपमा कडाइ नगर्दा रुपैडियाका व्यापारीहरु मालामाल भएको र नेपाली व्यापारीहरु रोइरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीको भनाइ छ । खुला नाका र कानुन फितलो भएकै कारणबिना भन्सार एकजनाले दिनको १०÷१२ पटकसम्म पनि सामान ओसार्ने गरेको बताउने धामीले भने,‘रुपैडिया बजारबाट सामान ल्याउने हरेक व्यक्तिले सामानको विवरणसहितको फारम भर्ने व्यवस्था नेपालगन्ज भन्सार कार्यालयले गर्नुपर्छ र भन्सार नतिरेर कुनै पनि सामान ल्याउन दिनु हुँदैन ।’ कुनै पनि नेपालीले भारतीय भूमिमा पाइला टेक्नेबित्तिकै भारतको नियम मानेर लाइनमा बस्नु पर्ने र मोटर साइकलको पछाडि बसेको व्यक्ति झरेर चेक गराएर जानु पर्ने हुन्छ तर नेपाल सरकारले त्यसको सिको गर्न नसकेको धामीले बताए । स्थानीय र स्थानीय प्रशासनले रुपडिया नाकाको नियमको सिको गरी पालना गरेको खण्डमा मात्रै पनि ठूलो समस्याको समाधान हुने उनको भनाइ छ ।

भारतीय बजार रुपैडियामा नेपाली बजार भन्दा सामान सस्तो पाइन्छ भन्ने नेपाली उपभोक्ताहरुमा भ्रम भएको कारण नेपाली वजार छोडेर रुपैडियामा नेपालीहरुको भिड लाग्ने गरेको नेपालगन्जका व्यापारीहरु बताउँछन् । रुपैडिया बजारमा सामान सस्तो पाइने र सबैखाले सामान एकै ठाउँमा पाइने भएकाले नियमित रुपैडिया बजार आउने गरेको नेपालगन्ज–१० की दुर्गा गुरुङको भनाइ छ । नेपाली ग्राहकहरुले रुपैडियामा सामानहरु सस्तो पाइन्छ भन्ने भ्रम पालेको कारण नेपाली बजारको गुणस्तरीय वस्तुहरु खरिद गर्न छोडेर रुपैडिया बजार धाउने गरेको नेपालगन्जका व्यवसायी बताउँछन् । नेपाली बजारमा सामानहरु सस्तो तथा गुणस्तरीय हुँदाहुँदै पनि कम गुणस्तरीय, म्याद नाघेका तथा स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको खरिद गर्न रुपैडियामा भिड लाग्ने गर्छ जसका कारण नेपाल सरकारलाई कर तिरी रहेका नेपाली व्यापारीहरु मारमा परेको उनीहरुको भनाइ छ ।

रुपैडियाबाट १ सय भन्दा बढीको सामान भन्सार नतिरेर ल्याउन नपाइने कानुनी प्रावधान भए पनि कानुनको पालना हुन सकेको छैन । एकैजना व्यक्तिले ४÷५ पटक सम्म भन्सार नै नतिरी सामानहरु ओसार्ने गरेको भए पनि नेपालगन्ज भन्सार कार्यालयले कडाइ नगर्दा नेपाली उपभोक्ताहरुलाई झन सजिलो भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीले भने,‘हामीले पटक–पटक यो विषयमा भन्सार कार्यालय र स्थानीय प्रशासनसँग छलफल गरी नियममा कडाइ गर्न सुझाव दिँदै आएको भए पनि नेपालगन्ज भन्सार कार्यालय र स्थानीय प्रहरी प्रशासन गम्भीर नभएपछि प्रतिदिन करोडौं मूल्य बराबरको वस्तु नेपाल भित्रिइरहेको छ ।’
रुपैडिहाको सबै भन्दा बढी व्यापार हुने र चलेका रामदूत कलाथ स्टोर, शान्ति स्टोर लगायतका पसलमा मान्छेको थेग्न नसकिने भिड हुन्छ । नेपाली ग्राहक नगए व्यापार नै ठप्प हुने रुपैडिया बजार नेपाली उपभोक्तामा पूर्ण निर्भर रहेको छ । रुपैडियाको एउटा पसलले एक दिनमा करिब चार÷पाँच लाखसम्मको कारोबार गर्ने गरेको त्यहाँका व्यापारीहरु बताउँछन् ।

नेपालगन्जबाट मात्रै होइन सुर्खेत, दाङ, बर्दियाबाट समेत मालसमान किनमेल गर्न रुपैडिया आउने गरेको त्याहाँका व्यापारीहरु बताउँछन् । सामानहरुको मूल्यमा खासै फरक नभए पनि सस्तो पाइन्छ भन्ने सोचाइका कारण मात्रै पनि नेपालीहरु रुपैडिया आउने गरेको रुपैडियाका व्यापारी सोनु मधेसियाले बताए । ‘कुनै सामान केही सस्तो र हामीप्रति विश्वास भएकाले नेपाली ग्राहक यहाँ आउँछन्,’ उनले भने ।

रुपैडिया बजारबाट दैनिक ५ करोड बराबरको सरसामान नेपाल भित्रिने गरेको भए पनि नेपाल सरकारको राजश्व खातामा एकदमै कम मात्रामा राजश्व जम्मा हुने गरेको नेपालगन्जका व्यापारीहरुको गुनासो रहेको छ । दुई÷चार रुपैयाँ महँगो भए पनि नेपाली बजारमै सामान किन्ने संस्कारको विकास गर्न सम्बन्धित निकायको ध्यान जानु पर्ने भन्दै व्यवसायीहरु भन्छन्, ‘नेपालका व्यपारीहरुले सरकारलाई कर तिर्ने भएकाले नेपालीहरुको रकम नेपाली बजारमै खर्च हुर्नपर्छ ।’ रुपैडिया बजार मालामाल हुने र नेपालगन्जको बजार बेहाल हुने समस्याको समाधान गर्न सबैले सोच्ने कि ?

  • ४ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech