आठौं धारा नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख नगद

असल शासन प्रतिनिधि

नेपालगन्ज । आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगद प्राप्त गर्ने भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको उपस्थितीमा क्रियटिभ ह्याण्ड्सले बिहिवार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनका बिच नगद पुरस्कार घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिभिन्न विधाको नगद पुरस्कार घोषणा गरे । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन (४२.१९५किमी) तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर प्रदान गरिने अध्यक्ष ठकुरीले जानकारी गराए ।
त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्र प्रदान गरिने बताए ।

पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगद प्रदान गरिने उनले बताए ।
आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार आयोजना हुँदैछ । नेपालगन्ज उपमहानगरपालिकाको अगाडि शुरु÷समापन गेट रहने आठौं धारा नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

  • २ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech