आचारसंहिता पालना नगर्ने सञ्चार माध्यामलाई काउन्सिलको ध्यानाकर्षण

असल शासन प्रतिनिधि

२ मंसिर, नेपालगन्ज/ आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण विरुद्ध प्रेस काउन्सिल नेपालले कडाइ गरेको छ ।

निर्वाचनको शन्दर्भमा पत्रकार तथा सञ्चार माध्यामबाट पत्रकार आचारसहिता लगायत निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा प्रेस काउन्सिल नेपालले गरेको अनुगमनका क्रममा ९३ वटा सञ्चार माध्यमले आचारसंहिता प्रभावित हुने गरी सामग्री सम्प्रेषण गरेको पाइएको छ । प्रेस काउन्सिल नेपालको विशेष अनुगमन प्रारम्भ भएयता कात्तिक ३० गते बेलुका ५ बजेसम्मको संख्यात्मक विवरण अनुसार अनुगमनको दायरामा रहेकामध्ये २२ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४६ वटा अनलाइन र ५ वटा वेबपोर्टलले निर्वाचन आचारसंहिता प्रतिकुल समाचार तथा समाचार सामाग्री सम्प्रेषण भएको पाइएको हो ।

प्रेस काउन्सिल नेपालले यि सञ्चार माध्याममध्ये ६ वटा सञ्चारमाध्यमलाई निर्देशन, ५० वटालाई ध्यानाकर्षण, २२ वटालाई सचेत र १२ वटालाई स्पष्टीकरण सोधिएको छ । दर्ता÷सूचीकरण नभएका ५ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने ३ वटा अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ ।

अनुगमनको क्रममा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको बिज्ञापन निर्वाचन आचारसंहिताविपरित प्रकाशन प्रसारण गरेवापत ध्यानाकर्षण गराएको भएपनि त्यसतर्फ सावधानी अपनाइएको नपाइएकाले कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक लगायत केहि सञ्चार माध्यामलाई सचेत गराएको प्रेस काउन्सिल नेपालका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । त्यस्तै राजनीतिक दलका उम्मेदवारले चुनाबी सभामा बोलेको विषयलाई सञ्चार माध्यामकै धारणा जसरी शिर्षक चयन गरेकामा शिर्षक चयनमा सावधानी अपनाउनेतर्फ सरकारी सञ्चार माध्याम गोर्खापत्र दैनिकलाई ध्यानाकर्षण गराएको काउन्सिलले जनाएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन नजिकिँदै जाँदा आचारसंहिता उल्लङ्घनका नयाँ नयाँ प्रवृत्तिहरू देखिएको काउन्सिलले जनाएको छ । काउन्सिलले समाचार, विज्ञापन सम्प्रेषण गर्ने गराउने क्रममा पनि विशेष ध्यान दिन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको ध्यानाकर्षण गराएको छ ।

  • २ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech