यसरी पड्कियो बम

मन भण्डारी

नेपालगन्ज/ कार्तिक ३० गते बुधबार बेलुकी साढे सात बजेको समयमा म आफ्नो निवासको कोठामा बसिरहेको थिएँ । बाहिरको वातावरण शान्त थियो । चिसो मौसम सुरु भइसकेकाले छिमेकीहरु पनि सबै जना घर भित्र थिए । त्यो समयमा कोही खाना पकाउँदै थिए भने कोही खाना खाइरहेका थिए । बाहिर सबै तिर सुनसान थियो । एक्कासि नजिकैबाट ठूलो आवाज आयो । घरका सबै परिवार र छिमेकीहरुमा के को आवाज आयो भनेर एकछिन छलफल भयो । भर्खरै तिहार सकिएकाले कुनै केटाकेटीले तिहारको समयमा बाँकी रहेको पटका पड्काए होलान भन्ने मूल्यांकन हामीले गर्‍यौं । खासै वास्ता नगरी कोठामै बसी रहेँ ।

आवाज आएको ५ मिनेट पछि मेरो घर नजिकै मान्छेहरुको भिड लागि सकेको थियो । त्यो भिडको होहल्ला सुनेर के भएको रहेछ भनेर म त्यो भिड भएको स्थानमा गएँ । त्यतिबेलासम्म छिमेकीहरु सबै जम्मा भइसकेका थिए । म हतारहतारमा गएर सोधे के भयो ? सबैको एउटै आवाज आयो खाना पकाउने ग्यास (सिलिन्डर) पड्कियो । एक जना व्यक्ति बीच सडकमा घिस्रिँदै मलाई बचाउनुहोस् भन्दै नजिक आइरहेको थियो । शरीर भरी रगत, एउटा खुट्टा पूरै छिदविच्छेद र अर्को खुट्टामा सामान्य चोट लागेको थियो । बाटोमा रगत चुइरहेको थियो । त्यो व्यक्ति को हो मैले चिनेको थिएन । उसको आफन्त को छ भनेर सोध्दा भाडामा बस्ने मान्छे हो आफन्त कोही छैन भन्ने थाहा भयो । के गर्ने सबै अलमलमा परियो । एकजनाले रिक्सा बोलाएर अस्पताल लैजानु पर्ने बताएपछि तुरुन्तै रिक्सा ल्याएर घाइतेलाई रिक्सामा राख्ने काम भयो । रिक्सामा राखी सकेपछि सँगै जान कोही तयार भएन । पछि एक जना बहिनी र म रिक्सामा घाइतेलाई लगेर भेरी अस्पताल गयौँ । अस्पताल जाने क्रममा मैले नमस्कार शाह सरलगायत साथीहरुलाई घटनाको विषयमा जानकारी गराइसकेको थिएँ । अस्पतालको आपतकालीन कक्षमा पुर्‍याएर उपचारको कार्यमा सहयोग गर्‍यौँ ।

त्यहीँ समयमा मलाई घरबाट त्यो ग्यास सिलिण्डर नभई बम पड्किएको रहेछ भन्ने खबर आयो । एकछिन त म आत्तिए यो के सुन्दैछु भनेर । त्यति बेलासम्म घटना घटेको ठाउँमा प्रहरी पुगी सकेको थियो । घटना घटेको क्षेत्रका व्यक्तिहरुले १०० नम्बरमा फोन गर्दा नउठेपछि केही व्यक्तिहरु आफंै पुगेर प्रहरीलाई खबर गरेका थिए । खबर थाहा पाएपछि घटना घटेको आधा घण्टा पछि करिब ८ बजे प्रहरी घटनास्थल पुग्यो । नमस्कार शाह सरले भेरी अस्पतालबाट नै प्रहरीको उच्च अधिकारीहरुसँग घटनाको विषयमा कुरा गर्नु भयो । सुरुमा प्रहरीले पनि ग्यास हो की अरु केही हो भन्ने यकिन नभएको बताएको थियो ।

भेरी अस्पतालमै रहेको समयमा एकैछिनपछि प्रहरीको भ्यान अस्पताल पुग्यो र भ्यानबाट एकजना युवा घाइते अवस्थामा प्रहरीले निकाल्यो र ती युवालाई पनि आपतकालीन कक्षमा राखेर दुवै जनाको सँगै उपचार भयो । घटना घटेको कोठाभित्र प्रहरीले हेर्दा थप अरु बम भेटिएपछि र घटनाको प्रकृति हेरेपछि ग्यास सिलिण्डर नभएर कुकर बम पड्किएको पत्ता लागेको थियो । त्यसपछि म लगायतका साथीहरु भेरी अस्पतालबाट घटना घटेको ठाउँमा पुग्यौँ । घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरी पुगिसकेको थियो । कोठाबाट थप २ वटा तयारी अवस्थामा रहेका कुकर बम नेपाली सेनाले आफनो कब्जामा लिइ डिस्पोज गर्‍यो ।

  • २ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech