यस पटक रोकिएन ह्विल चेयर

फागुराम भन्छन् - खुसीको सिमा रहेन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरु नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित आदर्श मा.बि मतदान केन्द्रमा घिस्रिएर मतदान गर्न बाध्य भए ।

उनीहरु घिस्रिएर मतदान गर्न जान लागेको तस्बिर र भिडियो अधिकारकर्मी सिता बोहराले खिचेर सन्चार माध्यम र सामाजिक सन्जालहरुमा सार्वजनिक गरिन् । सो तस्वीर र भिडियो भाईरल भयो, उक्त घटनाको सर्बत्र आलोचना भयो ।

संयोग मान्नु पर्छ मंसिर ४ गते भएको संघ तथा प्रदेशको निर्वाचन पर्यवेक्षणको क्रममा अधिकारकर्मी बोहरा सोहि मतदान केन्द्रमा पुग्दा स्थानीय निर्वाचनमा ह्विल चेयर लिन नपाएर घिस्रिएर मतदान गर्न गएका नेपालगन्ज २० नयाँ बस्तिका फागुराम चौधरी ह्विल चेयरमै मतदान गर्न मतदान केन्द्र भित्र छिरिरहेको भेटिए ।

बोहराले भनिन् -अघिल्लो पटक अपाङ्गता भएका व्यक्तिहरुले भोगेको अमानवीय व्यवहार यस पटक भोग्नु नपर्दा खुसि लाग्यो ।आफुले खिचेको फोटो, भिडियोका आधारमा पहुँचयुक्तताको बिषय राष्ट्रिय बहसको बिषय बन्यो । आयोगले देशैभरका मतदान केन्द्रहरुलाई पहुँचयुक्त बनाउन निर्देशन जारी गर्यो ।

उनका अनुसार, उक्त केन्द्रमा निर्वाचन कार्यालयलेनै ह्वील चेयर प्रयोग गर्नका लागि ह्वील चेयरको व्यवस्था गरेको थियो ।

वैशाखमा भएको स्थानीय निर्वाचनमा मतदानस्थलको गेटबाट ह्वील चेयर भित्र छिराउन नदिएर घिस्रिन बाध्य बनाएको भन्दै निर्वाचन सम्बद्ध सरोकारवालाहरुको आलोचना भएको थियो ।

सो घटनाको कारण पनि हुन सक्छ यस पटक फागुराम मात्र होईन उनी जस्ता ह्विल चेयर प्रयोगकर्ता र अन्य अपांगता भएका व्यक्तिहरुले सहज रुपमा मतदान गर्ने अधिकार उपभोग गरे भने उनीहरूलाई प्रहरी, कर्मचारीहरुले असल व्यवहार गर्नुका साथै सहयोग गरे ।

बैशाख महिनाको दुर्ववहार र मंसिर महिनाको सहजता र सहयोगबाट फागुराम दङ्ग छन् । भन्छन् -खुसिको सिमा रहेन ।

तस्वीर : सिता बोहरा

  • ४ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech