डुडुवामा पुस ४ गते गाउँसभा बस्दै

असल शासन प्रतिनिधि

डुडुवा (बाँके)/ डुडुवामा आगामी पुस ४ गते सोमबार दिउँसो २ बजे गाउँसभा बस्ने सहमति भएको छ । कार्यपालिकाको मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार गाउँसभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ, त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने छ ।

वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्ने छन् र त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

मंगलबार बसेको कार्यपालिकाको बैठकमा विपक्षी दलले सहमति गरेपछि सभाको टुङ्गो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्थानीय सरकार ंसंचालन ऐन २०७४ अनुसार विधि र प्रक्रिया बमोजिम स्थानीय तहका कार्यहरु गर्ने कानूनमा स्पष्ट व्यवस्था भएको र सोही बमोजिम गर्न खोज्दा विपक्षीको अवरोधले पालिकाको सेवा प्रभावित हुनु दुःखको कुरा भएका बताए । सहमति अनुसार सभा बसे सबै समस्या समाधान हुने उनको विश्वास छ ।

गाउँपालिकाको गाउँसभा नहँुदा सेवासुविधा प्रभावित भएको भन्दै कर्मचारीले तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेर विरोधमा उत्रिएका थिए । गाउँसभाको मिति तोकिएपछि उनीहरुले विरोधका सम्पूर्ण कार्यक्रम स्थगित गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । बुढाका अनुसार ४ गते सभा सम्पन्न नहुँदासम्म आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech