नरैनापुरमा पनि चल्यो डोजर

एक दर्जन अतिक्रमित घर टहरा भत्काइयो

असल शासन प्रतिनिधि

नरैनापुर/ बाँकेको नरैनापुर गाउँपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नम्बर १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ ।

गाउँपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नम्बर १ का अध्यक्ष इसाक जोहलले बताए । उनले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराए पनि घर नभत्काए पछि डोजर लगाएर भत्काउन बाध्य भएको बताए ।

गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाउँपालिकाले डोजर लगाएर भत्काउने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । पालिकालाई व्यवस्थित बनाउने लक्ष्य अनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए । ‘सार्वजनिक सम्पत्तिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन,’ अध्यक्ष शाहले भने,‘ नियम मिचेर बनाइएका यस्ता संरचना क्रमशः गाउँपालिकाले भत्काउँदै जानेछ ।’
गाउँपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्र समेत दिएको थियो । स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले बताए । गाउँको सडक साँघुरो हुँदै गएकाले व्यवस्थित रुपमा सडक विस्तार गर्ने उद्देश्यसाथ प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको अध्यक्ष साहले जिकिर गरे ।

अध्यक्ष साहका अनुसार पहिलो चरणमा नरैनापुर १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको छ । उनले भने,‘बाँकी रहेका अनधिकृत रुपमा बनाइएका घर टहरा समयसीमाभित्रै नहटाए डोजर लगाएर भत्काउन बाध्य हुनेछौं ।’

  • २८ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech