‘व्यवहार परिवर्तन’ प्रभावकारी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाल संरक्षण तथा सामाजिक व्यवहार परिवर्तन कार्यक्रमले वास्तविक जोखिममा रहेका बालबालिका र महिलाका लागि उत्कृष्ट कार्य गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा कर्णाली र सुदूरपश्चिम प्रदेशमा संचालित उक्त परियोजनाको वार्षिक समीक्षा गोष्ठीमा सहभागी महिला तथा बालबालिका शाखा प्रमुखहरुले सो कुरा बताएका हुन् ।

बाल संरक्षण कार्यक्रम संचालनपछि पालिकाभित्र जोखिममा रहेका बालबालिका र हिंसा प्रभावित महिलाको पहिचान गर्ने, स्याहार योजना तयार गर्ने, सहयोग गर्ने, स्थानीय सरकारसँग उनीहरुको पहुँच स्थापित गर्न समन्वयको कार्य उत्कृष्ट र प्रभावकारी रहेको सहभागीले बताएका छन् ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका महिला विकास अधिकृत सुनिता केसीले समुदाय तहमा बासले गरेको काम निकै प्रभावकारी रहेको बताइन् । उनले प्रदेश तहबाट गर्नुपर्ने सहकार्यका लागि सदैव तयार रहेको भन्दै कार्यक्रमको निरन्तरता आवश्यक रहेको सुनाइन् ।

यसैगरी कार्यक्रममा बोल्दै खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले गर्नु पर्ने कुरामा सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सो क्रममा पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुले बासको समन्वय पक्ष निकै बलियो रहेकाले काम गर्न सहज भएको बताएका थिए ।

छलफलको क्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिँदै युनिसेफ नेपालका कुंगा सन्दुप लामाले समुदाय तहमा बासले गरेको कामको पालिकाहरुले अपनत्व लिएको जनाउँदै समुदायमा गरेको उत्कृष्ट कार्यको प्रशंसा गरेका थिए । युनिसेफले लिएको उद्देश्य परिपूर्तिका लागि प्रदेश सरकार, स्थानीय सरकार र बासले गरेको मेहनत स्रहानीय रहेको उनको भनाइ थियो ।

बर्दियाको ठाकुरद्वारामा आयोजना गरिएको समीक्षा गोष्ठीमा बाल संरक्षण तथा सामाजिक व्यवहार परिवर्तन कार्यक्रमको उद्देश्य र योजना गरिएका कार्यक्रमहरुको बारेमा जानकारी युनिसेफ नेपालका कुंगा सन्दुप लामाले दिएका थिए भने कार्यक्रम अन्तर्गत अक्टुबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्म वार्षिक रुपमा हासिल गरेको प्रगति, उपलब्धि, चुनौती, सिकाइको प्रस्तुतीकरण कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए । प्रस्तुतीकरण पश्चात् गरिएको समूहगत छलफलमा सहभागीले भइरहेको सबै कार्यहरु उत्कृष्ट रहेकोले त्यसको निरन्तरता जरुरी रहेको निष्कर्ष निकालेका थिए ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले संचालन गरेको समीक्षा गोष्ठीमा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले धन्यबाद ज्ञापन गरेको गोष्ठीको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेकी थिइन् । समीक्षा गोष्ठीमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १५ वटा पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख, बासका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • ६ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech