रहेछन् यस्ता पनि प्रहरी

खगेन्द्र गिरी 'कोपिला'

बुटवल/ पौष ५ गते बिहान ८ बजेको कुरो हो। बुटवलको अस्पताल लाइनमा सवारी साधन रोक्न निषेध गरिएको ठाउँमा ३७८७ नं. को मिनिबस आएर रोकियो।

प्रहरीले त्यहाँ मिनिबस नरोक्न, अघि बढ्न संकेत गरिरहे तर मिनिबसको चालकले अटेर गरिरह्यो। अन्तत: ती प्रहरीले त्यो अटेरी चालकका कागजपत्रहरु थुतेर दण्ड जरिमानाको रसिद काटे। चालकले प्रहरीको हातमा सय रुपियाँ घुस दिएर उम्किन खोज्यो। ती प्रहरीले त्यो रुपियाँ र चालकको हात समातेर सबै मान्छेलाई देखाउँदै भने- “हेर्नुहोस् त नियम मिच्ने चालकले मलाई सय रुपियाँ घुस दिन खोज्दै छ”। एक जना यात्रुले त्यो भिडियो खिचिहाले।

यी ट्राफिक प्रहरीको नाम सुवास चौधरी थारु रहेछ। त्यति बेलै त्यो नियम मिच्ने अटेरी चालकको पक्ष लिंदै एक जना रातो लुगा लगाएको यात्रु मिनिबसबाट ओर्लेर ती प्रहरीलाई हकार्न लाग्यो। आफूलाई इन्जिनियर हुँ भन्ने त्यो केटो (त्यो केटोको छाँट हेर्दा इन्जिनितर नै होला भनेर पत्यार त लागेन) “काम गरि खाने मिनिबस चालकलाई दुई मिनेट रोकेको कारणले नै दण्ड जरिमाना गर्नु प्रहरीको अपराध हो” भन्दै प्रहरीसंग बाँझ्न थाल्यो। प्रहरी गल्दै गलेनन्।

त्यो रातो लुगा लाउने युवाले ती प्रहरीलाई नै गलत देखाउँदै “प्रहरी-प्रशासनका हाकिमहरु मेरा मान्छे छन्” भन्दै थर्काइरह्यो। ती प्रहरीले यात्रुबाट भिडियो खिचेको मोबाइल मागेर त्यो भिडियो सबैलाई देखाएर आफूले कार्यवाही गर्नु ठिक छ भनेर पुष्टि गरे तर केहि मान्छेहरु त्यो इन्जिनियर हुँ भन्ने केटोलेझैं चालककै पक्षमा पनि बोलिरहे।

त्यो रातो लुगा लगाउने युवाले आफ्नो फुर्तिको प्रदर्शन गर्दै अलि पर उभिएको अर्को प्रहरीलाई पनि कुरा लगायो। उताबाट “यो चौधरी त कसैले भनेको पनि टेर्दैटेर्दैन, उसको अगाडि कसैले नियम मिच्यो भने उसले त कार्वाही गर्छ गर्छ” भन्ने उत्तर आएपछि त्यो रातो लुगा लगाउने केटो लुसुक्क बसभित्र छिर्‍यो।

प्रहरीले चालकबाट कागजपत्र लिए र काटेको रसिद दिंदै भने -“दिउँसो अफिसमा आउनु र ५ हजार तिरेर आफ्ना कागज लिएर जानू”।

साँच्चै देश बनाउने काममा नियम कानूनको पालना गराउने यस्तै सुवास चौधरी थारुजस्तै प्रहरीहरुको पनि ठूलो भूमिका हुन्छ। युवा युवा भन्दैमा त्यो रातो लुगा लगाउने केटोजस्तो भएर के काम!

बुटवलमा यस्ता कर्तव्यनिष्ठ र आफ्नो जिम्मेवारीप्रति उच्च बोध भएका प्रहरीलाई देख्दा/भेट्दा निकै खुसी लागेर आयो। ती प्रहरीलाई धन्यवाद नदिइरहन सकिएन।

  • १० पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech