छाउगोठ भत्काउने अभियान चलाऔँ

रेबिका बि.क.

महिनावारी एउटा स्वाभाविक प्रकृया मात्र होइन । यो प्रजनन स्वास्थ्यसँग जोडिएको विषय पनि हो । महिनावारीको समयमा उचित रेखदेख र सावधानी अपनाउन जरुरी हुन्छ । विशेषतः पहिलोपटक महिनावारी हुने किशोरीहरूमा विभिन्न शारीरिक, मानसिक विचलनहरू आउने गर्छन् । यो किशोरी स्वास्थ्यको हिसाबले समेत संवेदनशील समय हो ।

तर समाजमा विद्यमान विभिन्न पुरातन मान्यताहरूका कारण किशोरीहरू महिनावारीको समयमा अत्यन्तै कष्ठपूर्ण समय बिताउन बाध्य हुनु एउटा कहालीलाग्दो समस्याको रूपमा रहेको छ ।

कर्णाली र सुदूरपश्चिमका अधिकांश ठाउँमा अझै पनि छाउपडी एउटा असाध्य समस्या बनेको छ । विभिन्न धार्मिक सांस्कृतिक मान्यताहरूले महिनावारीलाई एउटा दोष वा कमजोरीको रूपमा व्याख्या गर्नुले किशोरीहरूको लागि महिनावारी एउटा कष्ठपूर्ण अवधि बन्न पुगेको छ ।

यो समस्याबाट किशोरीहरू र सम्पूर्ण महिलाहरूलाई मुक्त गर्न थुप्रै कदमहरू चालिनुपर्ने देखिन्छ । महिनावारीसम्बन्धी जनचेतना फैलाउने, धार्मिक सांस्कृतिक मान्यताहरूको खण्डन गर्ने, किशोरी स्वास्थ्यका विषयमा शिक्षा दिने र समाजमा विद्यमान छाउपडी लगायतका समस्याहरूको विरुद्धमा अभियान नै चलाउनु अत्यन्त जरुरी देखिन्छ ।

कतिपय जानेबुझेकै व्यक्तिहरू समेत छाउपडी प्रथालाई संरक्षण गर्न उद्यत भएको पाइन्छ । त्यसैले यससम्बन्धी कानुनी प्रावधानहरू बनाई कडा रूपमा लागू गर्ने तथा छाउगोठहरू भत्काउने जस्ता अभियानहरू चलाउनु आवश्यक देखिन्छ ।

  • १४ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech