नेपालगन्जमा प्रदेश स्तरीय महोत्सव हुँदै

पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा प्रदेश स्तरीय नेपालगन्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुने भएको छ ।

महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ १० गतेदेखि २४ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन कार्यालय काँरकादो परिसरमा रहेको फिल्डमा महोत्सव आयोजना हुन लागेको महासंघ अध्यक्ष मधुकुमारी खड्काले जानकारी दिइन् ।

‘समृद नेपालको प्रमुख आधार उद्यमी व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ नाराका साथ महोत्सव आयोजना गरिँदै छ । कार्यक्रममा अध्यक्ष खड्काले भनिन्, ‘विगत केही वर्षदेखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी उद्योगीलाई निशुल्क स्टल राख्न पाउने व्यवस्था गर्न लागिपरेका छौं ।’

महोत्सवको मुख्य आकर्षकका रुपमा  यस क्षेत्रमै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुने छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने बताइएको छ ।

 

महोत्सवमा प्रवेशका लागि ६० रुपैयाँ प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैयाँ टिकट दर राखिएको छ । महोत्सवमा ३०० स्टल रहने छ जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने छ ।

यस्तै, खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहने छ भने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सव १४ दिन चल्ने छ । महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

उद्घाटनको दिन धम्बोझीदेखि कार्यक्रम स्थलसम्म भव्य झाँकी समेतको आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्राथमिकता दिइने आयोजक संस्था सिवालय सेक्युरिटीका अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए ।

  • १५ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech