मानव बेचबिखनका ७ हजार ५ सय ७२ निवेदन

टिकटक प्रयोगबाट १८ जना हराए

असल शासन प्रतिनिधि

नेपालगन्ज/ पछिल्लो समय मानव तस्करीका घटना बढिरहेको एक तथ्यांकले देखाएको छ । माइती नेपालको तथ्यांक अनुसार २००२–२०२२ सम्म खोजतलासका लागि ७ हजार ५ सय ७२ वटा निवेदन परेको छन् । जसमा ५ हजार ९ सय ३८ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

माइती नेपालले जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्ममा पश्चिम नेपालका २२ जिल्लाका ५ सय २९ जना जोखिमपूर्ण यात्रामा रहेका व्यक्तिलाई सीमानाबाट उद्धार गरेको जनाएको छ । जसमा सबैभन्दा बढी सुर्खेतका ८६ जना रहेका छन् । त्यस्तै बाँकेका ८२, दाङका ६२ र बर्दियाका ५८ जना रहेका छन् । त्यसमध्ये १८ वर्ष मुनिका २ सय १० बालिका र बालक १५ जना रहेका छन् ।

यस वर्ष माइती नेपालमा हराइएका बालबालिका एवम् महिलाहरुको खोजतलास तथा उद्धारका लागि ६ सय ९३ जनाको निवदेन परेको थियो भने २ सय ४९ जनाको उद्धार गरिएको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए । यसमा पनि १८ वर्षमुनिका बालिका २ सय ६८ जना छन् भने बालक ७२ जना रहेका छन् ।

यसरी हराइएका बालबालिका एवम् महिलाहरुको खोजतलास तथा उद्धारका लागि बाँकेबाट मात्रै १ सय ५७ जनाको निवेदन परेको थियो । साथै बर्दियाबाट ५९, सुर्खेतबाट १ सय १५, दाङबाट ७०, जाजरकोटबाट ५८, दैलेखबाट ४९, रुकमबाट ३८ जनाको निवेदन परेको थियो ।
यस वर्ष माइती नेपालले श्रम र यौन शोषणमा परेका १० जनाको उद्धार गर्नुका साथै घरेलु हिंसामा परेका ७ जनको उद्धार गरेको छ । यस वर्ष ५ जनाको बेचविखन घट्नाको मुद्दा दर्ता भएको छ भने जबरजस्ती करणी (बलात्कार)को १ घटना दर्ता भएको कोइरालाले बताए ।

त्यस्तै २० वर्षको अवधिमा श्रम र यौन शोषणमा परेका तीन सय ६५ जनाको भारत लगायतका देशबाट उद्धार गरिएको कोइरालाले बताए । सन् २०२२ मा यौन तथा श्रम शोषणमा परेका ९ जनालाई भारतबाट र एक जनालाई खाडीमुलुकबाट गरी १० जनाको उद्धार गरी घरमा पुनर्मिलन गराइएको उनले बताए ।

माइती नेपाल नेपालगन्जले एक वर्षको अवधिमा असुरक्षित बसाइसराई गरिरहेका पाँच सय २९ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरिएको जनाएको छ । घरेलु हिंसामा परेको भन्दै न्यायका लागि १० जनाले निवेदनकोमा सात वटा विवाद समाधान गरिएको कोइरालाको भनाइ छ ।

हालसम्म कति नेपाली बेचबिखनमा परेका छन् भन्नेबारे यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । सन् २००१ मा आ.एल.ओको सर्वेक्षणअनुसार १० देखि १२ हजार व्यक्ति भारतमा बेचविखन भएको तथ्य आएको थियो । तर सो समयमा २ लाख ५० हजार नेपाली महिला बालबालिका भारतमा रहेको पाइएको थियो ।

माइती नेपालको तथ्यांक हेर्दा जोखिमपूर्ण यात्रामा सन् २०२० मा २ सय ६७ र २०२१ मा ४ सय ३४ जना थिए । तर सन् २०२२ जनवरीदेखि २०२२ डिसेम्बरसम्म ५ सय १९ जना जोखिम यात्रामा रहेको तथ्यांक रहेको प्रमुख कोइरालाले बताए । ‘यस वर्ष गत वर्षको तुलनामा ९५ जना बढी नेपालीले जोखिम यात्रामा रहेको निवदेन हामीसँग रहेको छ,’ उनले भने, ‘यसको अर्थ विगतमा हराएका मानिसको कम खोजी भएको र अहिले चेतनाको विकाससँगै हराएका व्यक्तिको खोजीका लागि बढी निवेदन परेको हुन पनि सक्छ ।’

टिकटक प्रयोगबाट १८ जना हराए
माइती नेपालमा हराएका व्यक्तिहरुको खोजीका लागि परेको निवेदनमा ३० प्रतिशतभन्दा बढी सामाजिक संजालको माध्यामबाट हराएको निवेदन परेको कोइरालाले बताए । सामाजिक संजाजमध्ये टिकटकको माध्यामबाट मात्रै १८ जना हराएको निवदेन माइती नेपालमा परेको थियो । जसमा १६ जना सम्पर्कमा आएका छन् भने बाँकी २ जना अझै पनि सम्पर्कमा आउन नसकेको कोइरालाले बताए ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech