भ्रष्टाचार बिरुद्ध एकजुट हुनुपर्नेमा जोड

असल शासन प्रतिनिधि

सुर्खेत /नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले बास नेपालले सुशासनका क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको बताएका छन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित बास सुर्खेत शाखाको छैठौं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले बासले सुशासनको क्षेत्रमा गरेको योगदानको चर्चा गरेका हुन् ।
कोषाध्यक्ष सेजुवालले पत्रकारिता क्षेत्रले गर्नुपर्ने कामलाई बासले गर्दै आएकोले उक्त कार्यले पत्रकारितालाई पनि सहज भएको बताए ।
‘बासले विगत २२ वर्षदेखि भ्रष्टाचार विरुद्धका अभियानहरु सञ्चालन गरिरहेको छ । जसले गर्दा पत्रकारिता क्षेत्रलाई पनि सहज भएको छ, उनले भने, ‘भ्रष्टाचार विरुद्ध र सुशासनका क्षेत्रमा बासले अब्बल भूमिका खेलेको छ ।’
कोषाध्यक्ष सेजुवालले बासको यो अभियानमा आफुले निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यस्तै बासका निवर्तमान अध्यक्ष मन भण्डारीले भ्रष्टाचार विरुद्धको आवाज नै बासको मूलमन्त्र रहेको बताए । उनले समाजमा भएका भ्रष्टाचारहरुको विरुद्धमा देशैभरी अभियानहरु सञ्चालन गरेर अगाडी बढेको बताए ।
‘समाजमा जरा गाडेर बसेको भ्रष्टाचार विरुद्ध आवाज उठाउनु हाम्रो पहिलो काम हो, उनले भने, ‘अहिले बाससँग पाँच हजारभन्दाढी युवाहरु जोडिएर भ्रष्टाचार विरुद्धको अभियानमा लागेका छन् । अब भ्रष्टाचार न्यूनिकरणका लागि सबै एकजुट भएर अगाडी बढ्नुपर्छ ।’
बासका कार्यकारी निर्देशक नमस्कार शाहले संस्थाको २२ वर्षसम्मको संघर्ष, सफलताको फेहरिस्त सुनाए ।
‘२२ वर्ष अगाडी क्याम्पसमा पढ्ने विद्यार्थीहरुले असल शासन रेडियो स्रोता समुह स्थापना गरेका थियौं । तर, अहिले बास नामले ७७ जिल्लामा नै शाखा गठन गर्न सफल भएका छौं, उनले भने, ‘हामीले शाखा विस्तार गर्ने क्रममा पहिलो पटक सुर्खेत गरेका थियौं । अहिले सुशासनका क्षेत्रमा अब्बल साबित भएका छौं ।’
बास सुर्खेतका पुर्व अध्यक्ष त्रिभुवन विसीले बासले कर्णालीमा भ्रष्टाचार विरुद्ध प्रभावकारी अभियानहरु सञ्चालन गरेको भन्दै प्रसंशा गरे ।
‘बासको पहिलो शाखाका रुपमा सुर्खेतको अध्यक्ष हुँदा मैले धेरै कुरा सिक्ने अवसर पाएँ । भ्रष्टाचार विरुद्ध र सुशासनका क्षेत्रमा काम गर्न यही संस्थाबाटै सिकें, उनले भने, ‘अहिले कर्णालीमा पनि बासले गरेको क्रियाकलापको प्रभावकारिता बढेको छ ।’
बास सुर्खेत शाखाका निवर्तमान अध्यक्ष जगतदल जनाला विकले बासले समाजमा भएको बेतिथि विरुद्ध आवाज उठाउने संस्था बास रहेको बताए । उनले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाउन सुझाव दिए ।
यस्तै अधिवेशनबाट सुर्खेत शाखा अध्यक्षमा भगवती विसी चयन भएकी छन् । उपाध्यक्षमा प्रेम प्रकाश खत्री, सचिवमा ललिता विश्वकर्मा ओड, कोषाध्यक्षमा अमर शाह, सहसचिवमा सुबास खत्री चयन भएका छन् । त्यसैगरी सदस्यमा खगेन्द्र पूरी, लक्ष्मण सिंह, विश्वेश्वर विष्ट, सिर्जना शाही, राम बहादुर बटाला, तृप्ति शाही, प्रमिला खड्का र सुशील सुनार चयन भएका छन् ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech