दादुराका बिरामी बढेपछि नेपालगन्जमा खोप अभियान तीव्र

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दादुराका बिरामी बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले खोप अभियानलाई तीव्रता दिएको छ । नेपालगन्जमा अहिलेसम्म एक बालकको मृत्यु भइसकेको छ भने २९ जना बढी बिरामी फेला परेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिएका छन् ।

केही दिन यता समुदायस्तरमै दादुरा प्रभावित बालबालिकाको संख्या उल्लेख्य देखिएपछि खोप अभियानलाई तीव्रता दिइएको प्रमुख चन्दले बताए । दादुरा प्रभावित बालबालिका बढी देखिएका वडा नम्बर ५, ७ र ८ मा खोप लगाउन शुरु गरिएको छ । वडा नम्बर ५, ७ र ८ स्थित सहरी स्वास्थ्य क्लिनिक र वडा नम्बर ८ स्थित आइडियल स्कुलमा खोप केन्द्र संचालन गरिएको छ । यी वडाका करिब ४५ सय बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको प्रमुख चन्दले बताए ।

दादुरा देखिएका वडाहरु ५, ७, ८, ९, १०, ११, १४, १५, २२ मा तत्काल खोप अभियान चलाइँदैछ । अभियान सबै वडामा पु¥याउने तयारी रहेको छ । ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ९ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप अनिवार्य रुपमा खोप लगाउन प्रमुख चन्दले आग्रह गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा देखिएका बालबालिकालाई घरमै छुट्टै राखेर उपचार गर्ने र गम्भीर बिरामी भएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएको बताउँदै प्रमुख चन्दले जानकारी दिए ।

माहामारीको रुपमा फैलिएको दादुरा रुबेलाबाट बच्नका विशेष गरी ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई सिंक्रमित बिरामीबाट बचाएर राख्नु पर्ने स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताए । नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न ठाउँहरुमा दादुरा रुबेला खोप लगाउने अभियान सुरु भएको बताउँदै श्रेष्ठले सबै बालबालिकाहरुलाई यो खोप अनिवार्य रुपमा लगाउन अनुरोध गरेका छन् ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech