टिकटकमा जुवा खेलाउने पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं‌/ सामाजिक सञ्जालका रुपमा लोकप्रिय रहेको टिकटकबाट जुवा खेलाउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर मध्यपुर ठिमी–१० बस्ने २७ वर्षीय कपिल गिरी, २१ वर्षीय प्रेम कठायत र २० वर्षीय डिल्लीराज अवस्थी रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
टिकटक लाइभमा अरूलाई बोलाएर उनीहरूले तास खेलाउने र आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा रकम जम्मा गर्न लगाउने  गरेको एसपी कोइरालाले बताए । हारजित हुने गरी तास खेलाइरहेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरूलाई अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाएको छ ।

प्रहरीको अनुसन्धानबाट ऋषि प्रकाश योगीले पब्जी र पब्जी २ नामक दुईवटा टिकटक आइडी बनाएका थिए । उनले यसरी एक महिना १० दिनदेखि जुवा खेलाइरहेको अनुसन्धानबाट खुलेको छ । यसअवधिमा उनले २८ लाख ७३ हजार ३५४ रुपैयाँ बराबरको कारोबार गरेको पाएको छ ।

यस्तै पोकर किङ नामक टिकटक आइडी खोलेर तीन वटा इसेवा वालेट पनि खोलेका थिए। उनले १० दिनमा १० लाख ५२ हजार ९६२ बराबरको रकम कारोबार गरेको देखिएको छ । प्रेम र डिल्लीराजको आइडीबाट भने एक महिना ६ दिनको अवधिमा ९३ हजार २१४ रुपैयाँको कारोबार भएको छ ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech