नेपालगन्जमा अनलाइनबाटै सिफारिस

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकामा अनलाइन सिफारिस प्रणाली लागू भएको छ । २३ वटै वडाबाट अनलाइनमार्फत सिफारिस हुने नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ । अनलाइन सिफारिस प्रणाली एपमार्फत् सेवाग्राहीले आफैं आवश्यक कागजपत्र अपलोड गरेर सिफारिसका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

सेवाग्राहीले आफूले संलग्न गरेका कागजपत्र र प्रक्रिया पुगे÷नपुगेको जानकारी पनि एपमार्फत नै लिएर काम सम्पन्न भएको नभएको अवस्था यकिन गर्न सक्नेछन् । त्यसपछि वडा कार्यालयमा पुगेर सिफारिस लिन सकिनेछ । सेवा लिन वडामा पुग्ने सेवाग्राहीलाई पनि वडा कार्यालयले अनलाइन सिफारिस वेबमार्फत् अनलाइन सिफारिस प्रणालीबाट छिटोछरितो सेवा प्रवाह गर्नेछन् ।

२३ वटै वडामा अनलाइन सिफारिस प्रणाली सम्बन्धी वडा अध्यक्ष र वडा सचिवहरुका लागि आयोजित एक दिने अभिमुखीकरण तालिमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रशान्त विष्टले अनलाइन सिफारिस प्रणाली लागू भएपछि नेपालगन्ज उप–महानगरपालिका डिजिटलाइजेसनको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । उनले नेपालगन्ज उप–महानगरपालिकालाई प्रविधिमैत्री बनाउने अभियानमा आफूहरु लागेको बताउँदै अनलाइन सिफारिस प्रणालीको सुरुवातले प्रविधिमैत्री सेवा प्रवाहमा नयाँ फड्को मारेको उल्लेख गरे ।

उपप्रमुख कमरुद्दिन राईले अनलाइन सिफारिस प्रणालीको सुरुवातले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाहसँगै समयको पनि बचत हुने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले अब सबै वडाको सिफारिसमा एकरुपता आउने बताउँदै डिजिटलाइज सेवा प्रवाहले सहजता थप्ने उल्लेख गरे ।

अभिमुखीकरण तालिममा अनलाइन सिफारिस प्रणाली के हो ? यो प्रणाली चलाउने तरिका, यसका फाइदा र आउने जटिलताहरु कसरी सम्बोधन गर्ने लगायतका विषयमा नेपालगन्ज उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत घनश्याम बर्मा, राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत खुसीराम थारु, जिआइजेडका निराजन सुवेदी र अजिता पोख्रेलले प्रशिक्षण दिएका थिए । अभिमुखीकरण कार्यक्रममा २३ वटै वडाका वडा अध्यक्ष तथा वडा सचिवहरुको सहभागिता थियो । जिआइजेडको आर्थिक सहयोगमा अनलाइन सिफारिस प्रणाली विकास गरिएको हो ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech