कोहलपुरको १२ औं नगरसभाः चार प्रस्ताव प्रस्तुत

असल शासन प्रतिनिधि

कोहलपुर/ कोहलपुर नगरपालिकाको १२ औं नगरसभा शुक्रबारदेखि सुरु भएको छ । उक्त नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अर्को बैठक बस्नु पूर्व सबै सभाषद समक्ष पुग्ने गरी चार वटा प्रस्ताव प्रस्तुत गरेका छन् । कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, कोहलपुर बांगमय प्रतिष्ठान विद्येयक २०७९, बजेट, योजना तथा कार्यक्रम संशोधन र नगरपालिकाको संगठन संरचनामा हेरफेर लगायतका प्रस्ताव नगरसभाका सभाध्यक्ष एवम् नगर प्रमुख आचार्यले प्रस्तुत गरेका हुन् । ती प्रस्ताव उपर आगामी माघ १३ गते बस्ने नगरसभाको बैठकमा दफावर छलफल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

प्रस्ताव प्रस्तुत गर्नु अघि सार्वजनिक महत्वको विषयमा आधादर्जन बढी नगरसभा सदस्यले आआफ्नो धारणा राखेका थिए । सदस्यहरु लालबहादुर राना, गोविन्द वाग्ले, तारादेवी सिंह, कविराम पुलामी, इश्वरी विश्वकर्मा, माधव रिजाल र भीम पौडेलले सार्वजनिक महत्वको बिषयमा आआफ्नो धारणा राख्दै नगरपालिकाको समग्र विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनीहरुले कोहलपुर नगरपालिकाको विकासका लागि योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

ढल, नाला तथा सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सहभागीले त्यसको गुणस्तरीयताको सवालमा अनुगमन संयन्त्रलाई प्रभावकारी गराइनुपर्ने बताए । डिजिटल कोहलपुरको अवधारणालाई साकार पार्नेदेखि शिक्षा र स्वास्थ्यमा नमुना पालिका बनाउने सवालमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेकोमा नगरसभाका सदस्यहरुको जोड थियो ।

त्यसक्रममा नगरसभा सदस्यहरुले उठाएका केही सवालहरुको बारेमा जवाफ दिँदै नगर प्रमुख आचार्यले नगरपालिकाको नीतिगत सुधारका सवालमा सकारात्मक अभ्यासहरुको थालनी गरिएको जानकारी दिए । ठेक्का लिने तर सम्झौता अनुसार काम नगर्ने व्यवसायीहरुलाई खरिद ऐन अन्तर्गत कारबाहीको दायरामा ल्याइएको जानकारी दिए । त्यस्तै नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका बनाउने सवालमा सकारात्मक कामहरुको थालनी भइसकेको बताइन् । नगरपालिकाले नगरभित्र भइरहेका कामहरुको प्रभावकारी अनुगमन र कमजोरी भएका स्थानमा सुधार्ने काम भइरहेको उपप्रमुख सुवेदीले जानकारी दिइन् । नगरसभाको अर्को बैठक माघ १३ गतेका लागि तोकिएको छ ।

 

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech