चम्पासिंहसँग ‘जम्काभेट’

माधव कार्की

चम्पासिंह थापामगर
अध्यक्ष, सामाजिक विकास मञ्च, (SDF) चिसापानी,बाँके

१.तपाईं नेतृत्वमा रहेको संस्थाले हाल के के कार्यक्रम संचालन गरिरहेको छ ?
सामाजिक विकास मञ्च क्म्ँ ले ग्रामीण जनताको स्थिति र स्तरलाई विभिन्न क्षेत्रहरूमा एक दशकभन्दा बढी समयदेखि जनताको सामाजिक, आर्थिक, शैक्षिक र व्यक्तिगत क्षमतामा सुधारका लागि काम गर्दै आएको छ । यस संस्थाले अन्धविश्वास, सामाजिक विकृति, सामाजिक अपराध, हिंसाविरुद्ध पनि आवाज उठाउँदै आएको छ । महिला तथा बालबालिकाहरुको जीवनस्तरमा सुधार ल्याई न्यायपूर्ण संगठित समाजको निर्माण गर्ने साथै जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोप नियन्त्रण सम्बन्धी क्रियाकलापहरु गर्दै आइरहेको छ । साथै पोषण र शिक्षा, जीविकोपार्जन, वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा पनि काम गर्दै आएको छ ।

२. यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायसँग रहेको छ ?
सहकार्य भन्नुपर्दा सेभ द चिल्ड्रेन, आइडिईसँगको सहकार्य रहेको छ ।

३. यहाँहरुले कसका लागि कहाँ कहाँ काम गर्नु हुन्छ ?
युवा तथा बालबालिका क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा, विपतबाट पीडित समुदायको लागि राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा कामहरु गर्दै आइरहेका छौं भने किसानका लागि जीविकोपार्जनको क्षेत्रमा बैजनाथ, खजुरा, जानकी, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा काम गर्दै आइरहेका छौं ।

४. हालसम्म गरिएका उल्लेखनीय कार्यहरु के के हुन् ?
नेपालगन्ज उपमहानगरपालिकामा नयाँ शिक्षा नीति बनाउनमा पहल तथा प्राविधिक सहयोग गरेका छौं । युवा नीति बनाउनमा पहल तथा सहयोगका साथै स्थानीय सरकार (राप्तीसोनारी तथा नरैनापुर गा.पा.)मा विपत निर्देशिका बनाउन प्राविधिक सहयोग गर्ने कार्यहरु नै यस संस्थाका उल्लेखनीय कार्यहरु हुन् ।

५. सामाजिक क्षेत्रमा कार्य गर्दा के के चुनौतीहरु सामना गर्नु परेको छ ?
चुनौतीहरु भन्नु पर्दा हालको राजनैतिक परिस्थितिका कारण सहभागी छनौट गर्दा केही प्राविधिक कठिनाइहरु रहेका छन् । परियोजनाले संचालन गरेका क्रियाकलापहरु परियोजना समाप्त भएपछि अधिकांश निश्कृय हुने सम्भावना हुनाले मुख्य चुनौती रहेको छ ।

६. आगामी कार्यक्रम र योजनाहरु के के हुन ?
समुदाय विकासका लागि नयाँ परियोजनाहरु ल्याउन दातृ निकायहरुसँग अझ बढी पहल गर्ने, स्थानीय सरकारसँगको सम्बन्धलाई अझ नजिक बनाई सहकार्य गर्नमा पहल गर्ने, परियोजनाका क्रियाकलापहरुको दीर्घकालीन रुपमा निरन्तर गराउन स्थानीय सरकार तथा सम्बन्धित निकायलाई पूर्ण रुपमा जिम्मेवारीबोध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउने योजना रहेको छ ।

अन्तिममा के भन्नुहुन्छ ?
यस मिडियाको माध्यमबाट हाम्रो संस्थाहरुको कामकाजहरुको जानकारीहरु बाहिर ल्याउने काम गरेको छ । स्थान दिएकोमा धेरै धेरै धन्यबाद असल शासन मिडियालाई ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech