११ वडामा ‘बजेट प्रक्रियामा नागरिक सहभागिता’

असल शासन प्रतिनिधि

नेपालगन्ज/ स्थानीय निकायमा हुने बजेट, योजना कार्यान्वयन र अनुगमन प्रक्रियामा नागरिकहरुको अर्थपूर्ण सहभागिता एवम् सार्वजनिक सेवामा सबैको सहज पहुँच गराउन ‘बजेट प्रक्रियामा नागरिक सहभागिता’ कार्यक्रम संचालनमा आएको छ । उक्त कार्यक्रम अन्तर्गत नेपालगन्जका ११ वटा वडा छनौट गरिएको छ । कार्यपालिकाको बैठकले वडा नम्बर २, ६, ८, ९, ११, १४, १५, १६, २०, २१ र २२ लाई छनौट गरेको हो ।

कार्यक्रममार्फत् अपाङ्गता भएका, सीमान्तकृत, महिला, बालिबालिका, ज्येष्ठ नागरिक, विपन्न वर्गलाई अभिमुखीकरण गरी बजेट, योजना कार्यान्वयन र अनुगमन प्रक्रियामा सहभागी गराउने रहेको छ ।

कार्यक्रम अन्तर्गत नगरपालिकाको सामाजिक नक्सांकन गरिने छ भने ३ वर्षको बजेट विश्लेषण पनि कार्यक्रमले गर्ने छ । त्यस्तै सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता सम्बन्धी नगरपालिकाको नीति तयार गर्ने र आउने वर्ष बजेटका साथै २०७९÷८० को नागरिक बजेट तयार र वितरण गर्ने रहेको मित्र समाजका टिम लिडर विनय दिल लामाले जानकारी दिए ।

नेपालगन्जसहित देशका पाँच वटा नगरपालिकामा संचालनमा आएको कार्यक्रमबारे टिम लिडर लामाले प्रकाश पारेका थिए ।
युरोपियन युनियन, युनिसेफ, युएन विमेनको सहयोग एवम् मित्र समाज र डेक्को नेपालको संयुक्त संयोजकत्वमा संचालित कार्यक्रमको उद्देश्य र प्रभावकारी कार्यान्वयनबारे शुक्रबार सञ्चारकर्मीसँग अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणमा दुई दर्जन सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech