नरैनापुरमा इलाका प्रशासन संचालनमा आउँदै

असल शासन प्रतिनिधि

नरैनापुर/ नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय संचालनमा आउँदैछ । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनस्र्थापना सँगै संचालनमा आउने भएको हो ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनस्र्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले निरीक्षण गरेको छ ।

लुम्बिनी प्रदेशका मन्त्री नमुनाले दुर्गममा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक भएकोले भाडामा लिएको भवनको मर्मत सम्पन्न भएपछि कार्यालय स्थापना हुने बताउँदै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यताको अन्त्य हुने जिकिर गरिन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले इलाका प्रशासन कार्यालय नरैनापुर ४ मा संचालनका लागि ५ कोठे भवन भाडामा लिने भएपछि प्रमुख जिल्ला अधिकारी, बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोर लगायतको टोलीलाई बोलाएर भवनको निरीक्षण गराएको बताए । उनले संघीयताको मर्म र भावनाअनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भए पनि गाउँपालिकामा रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना नहुँदा जनताले सास्ती व्यहोर्नु परेको बताउँदै इलाका प्रशासन स्थापना भएपछि जनतालाई ठूलो राहात हुने बताए ।

बाँकेका प्रमुख जिल्ला अकिकारी सूर्यबहादुर खत्रीले नरैनापुरमा प्रशासन कार्यालय राख्नका लागि उपयुक्त भवन गाउँपालिकाले व्यवस्था गरेकोले माघ महिनाभित्रै संचालनमा आउने बताए । भवनको रंगरोगन गर्न घर धनीलाई निर्देशन दिएको बताउँदै भवनको काम सम्पन्न भए लगत्तै कर्मचारीहरु सम्बन्धित ठाउँबाट नै सेवा प्रवाह गरिने प्रजिअ खत्रीले बताए ।

केही दिन अघि नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन पुनस्र्थापना माग गर्ने निर्णय गरेको थियो उक्त निर्णयलाई प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई अध्यक्ष शाहले बुझाएका थिए ।

इलाका प्रशासन कार्यालय नरैनापुर अहिले नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट संचालन हुँदै आएको छ । नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटर भन्दा बढी दूरी पार गरेर नेपालगन्ज आउने गर्छन् ।

मन्त्री नमूना, अध्यक्ष शाह, प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, प्रहरी उपरिक्षक राठौर, सशस्त्र प्रहरी उपरिक्षक, अनुसन्धान विभिगका बाँके प्रमुख, नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह लगायतको टोलीले इलाका प्रशासनको भवनको निरीक्षण गरेका थिए ।

 

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech