पञ्चे बाजा संरक्षणमा नरैनापुर

असल शासन प्रतिनिधि

नरैनापुर/ पछिल्लो समय नयाँ प्रविधि आविस्कारसँगै लोप हुँदै गएको पञ्चे बाजा संरक्षणमा नरैनापुर गाउँपालिका जुटेको छ । नयाँ पुस्तामा पञ्चे बाजाप्रतिको रुचि कम हुँदा प्रचलित पञ्चे बाजा बजाउने संख्या घट्दै गएको देखेपछि पञ्चे बाजाको संरक्षण र यसका वाद्यवादकलाई थप प्रोत्साहित गर्न नरैनापुर गाउँपालिकाको वडा नं. ६ मा रहेको पञ्चे बाजा समूहलाई एक सेट बाजा खरिद गरेर प्रदान गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

पञ्चे बाजा समूह बिहे, ब्रतबन्धका साथै शुभ कार्यका लागि बाजा बजाउने प्रचलन छ । पछिल्लो समय पञ्चे बाजा सांस्कृतिक, सामाजिक हिसाबले महत्वपूर्ण भए पनि बजाउनमा नयाँ पुस्ताको चासो र इच्छाशक्ति नदेखिएकाले गाउँपालिकाले पञ्चे बाजा संरक्षण तथा सो बाजा बजाउने समुदायको जीवनस्तर उकास्न बाजा प्रदान गरेको अध्यक्ष शाहको भनाइ थियो ।

बाजा हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, लेखा प्रमुख भरत बस्नेत, जिन्सी शाखा प्रमुख भरत महतो, वडा सदस्य मंगरे खाँलगायतको सहभागिता रहेको थियो ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech