खजुरामा शुरु भयो पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता

असल शासन प्रतिनिधि

खजुरा/ बाँकेको खजुरामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहीबार एक समारोहबीच खजुरा गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय डीगाउँ तथा खजुरा मिनी रंशालामा प्रतियोगिता शुभारम्भ गरिएको हो ।

माघ ५ देखि १० गतेसम्म संचालन हुने मेयर रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्न लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी आउने कुरा भए पनि अन्तिम समयसम्म आउन नसक्ने खबर आएपछि गाउँपालिका अध्यक्ष तथा प्रतियोगिताका मूल संयोजक डम्बर बहादुर विकले प्रमुख अतिथिको नाम लिँदै उद्घाटन गरे । उद्घाटन अघि नै छात्रहरुको कबड्डी र छात्राहरुको भलिबल प्रतियोगिता सुरु भैसकेको थियो . गाउँपालिकाका अध्यक्ष एवम् मूल आयोजक समितिका संयोजक डम्बर विकले उद्घाटन गर्दै प्रतियोगिता अवधिभर माध्यमिक तह कक्षा ९ देखि १२ आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तह कक्षा १ देखि ५ सम्मको लागि रनिङ शिल्डका लागि प्रतिस्पर्धा हुने जानकारी दिए ।
माध्यमिक तर्फ एथलेटिक्स भलिवल कबड्डी गरी जम्मा १५ इभेन्ट्स आधारभूत तह तर्फ ५ इभेन्टस र प्राथमिक तहमा ३ वटा एथलेटिक्स इभेन्टस्को प्रतिस्प्रधा गराइनेछ भने खुला चेस प्रतियोगिता मा छात्रा १ र छात्रा १ गरी हरेक विद्यालयबाट सहभागी गराउन सकिने व्यवस्था गरिएको जनाए । जम्मा २४ इभेन्टसमा प्रतियोगिता संचालन हुने संयोजक विकले जानकारी दिए । उद्घाटन समाहरोलाई सम्बोधन गर्दै अध्यक्ष विकले युवा तथा खेलकुदको पहिचान र नयाँ खेलाडी छनोटको उद्देश्यले प्रतियोगिता संचालन गरिएको बताए ।

समग्र खेलकुदको विकास गर्न खजुरा गाउँपालिकामा खेलकुद विकास समिति पनि निर्माण गरिएको बताउँदै अध्यक्ष विकले यसबाट खेलकुदको भौतिक संरचना संरक्षण गर्न हुने अपेक्षा व्यक्त गरे । खेलकुदका लागि भनेरै गाउँपालिकाले गत वर्षभन्दा यस वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिताका लागि दोब्बर बजेट विनियोजन गरिएको बताए ।

प्रतियोगितामा खजुरा गाउँपालिकामा रहेका ६६ विद्यालयहरुले भाग लिएका छन् । प्रतियोगितामा ५० जना खेलाडी विद्यार्थीहरुको लागि बिमा समेत गरिएको अध्यक्ष विकले बताए । प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२ , आधारभूत तह र प्राथमिक तह कक्षा १ देखि ५ मा अध्ययनरत क्रमशः १८ वर्ष मुनिका १४ वर्ष र १२ मुनिका सामुदायिक विद्यालय, संस्थागत र मदरसा गरी ६६ विद्यालयका १३२० खेलाडीहरु सहभागी रहेको सचिवालय संयोजक तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयहरुलाई माध्यमिक आधारभूत र प्राथमिक तह क्रमशः ३३ हजार, २० हजार र १४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने सचिवालय संयोजक मल्लले जनाए । प्रतियोगिताको शुभारम्भ समारोहमा विभिन्न झाँकी, विद्यालयहरुका मार्च पास तथा सांस्कृतिक कार्यक्रमहरु गरिएका थिए ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech