ज्येष्ठ नागरिकलाई भत्ता वितरण

असल शासन प्रतिनिधि

डुडुवा/ बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७९।०८० को प्रथम तथा दोस्रो चौमासिकको भत्ता वितरण गर्न थालिएको हो ।

गाउँपालिकाको ६ वटै वडाका लक्षित नागरिकलाई बिहीबारदेखि भत्ता वितरण शुरु गरिएको छ । भत्ता वितरण गर्ने बैंकमै पुगेर गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गरेका छन् ।

गाउँपालिकामा सामाजिक भत्ता पाउने ज्येष्ठ नागरिकलाई बैंकसम्म सहजरुपमा पु¥याएर भत्ता ग्रहण गराएर पुनः घरमै छोड्ने सुविधा समेत प्रदान गरिएको छ । भत्ता पाउने व्यक्तिहरुलाई नेपालगन्जको तीन वटा बैंक एन आई एम बी बैंक, ज्योति विकास बैंक र कुमारी बैंकमार्फत भत्ता वितरण भइरहेको छ ।

गाउँपालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा प्रमुख कौशल कैरातीका अनुसार गाउँपालिकाको ६ वटै वडाका जेष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गता, एकल महिला, विधुवा गरी ४ हजार ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई प्रति महिना ३ हजार, ६० वर्ष पुगेका ज्येष्ठ नागरिक दलित, ६० वर्ष पुगेका ज्येष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना २ हजार, पूर्ण अपाङ्गता भएका व्यक्ति (क) वर्गलाई प्रति महिना ३ हजार, अपाङ्गता भएका व्यक्ति (ख) वर्गलाई प्रति महिना १ हजार ६ सय, जन्मेदेखि ५ वर्षमुनिका दलित बालबालिकालाई प्रति महिना ४ सयका दरले रकम वितरण गरिने अपरेटर कौशलले बताए ।

यसैगरि अपाङ्गता भएका व्यक्ती (ग) वर्गलाई प्रति महिना ५ सय र (घ) वर्गलाई ४ सय प्रति महिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिएको पञ्जिकाधिकारी शिव कुमार मौर्यले जानकारी दिनुभयो ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech