खजुरामा ‘सक्षम’ परियोजना

असल शासन प्रतिनिधि

खजुरा/ बाँकेको खजुरा गाउँपालिकामा सक्षम परियोजना संचालनमा आएको छ । अपाङ्गता भएका व्यक्तिहरुको लागि उक्त परियोजनाको सुरुवात गरिएको हो ।

विशेषगरी अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सवलीकरणको मुख्य उद्देश्य राखेर तीन वर्षका लागि परियोजना लागु भएको छ । युएसएआइडिको आर्थिक सहयोगमा सिविएमले व्यवस्थापन, डेक नेपालले कार्यान्वयन र कोसिस नेपालले परियोजनालाई प्राविधिक सहयोग गर्नेछन् ।

परियोजना बाँकेमा खजुरासँगै नेपालगन्जमा पनि संचालन गरिने परियोजना संयोजक गोविन्द फुलाराले जानकारी दिए । परियोजना लुम्बिनी प्रदेशको बाँके र दाङ जिल्लाका ४ वटा स्थानीय पालिकामा कोभिड–१९ बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरुको हितमा संचालन हुनेछ । बाँकेको ७ हजार ४ सय ६८ र दाङका १२ हजार ८ सय ८१ जनालाई लक्षित गरेर परियोजना संचालन भएको छ । परियोजनाको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी, दिगो र पूर्ववत जीवनको आनन्द लिऊन् भन्ने मुख्य लक्ष्य रहेको छ ।

अपाङ्गता भएका व्यक्तिको आय क्षेत्रमा २० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको परियोजना संयोजक फुलाराले जनाए । ‘सक्षम’ परियोजना मार्फत् पालिकामा स्वावलम्बन समूह गठन, बैठक, छलफल, आय आर्जनका गतिविधि बढाउने तालिम, नीति पैरवी, व्यवसायिक संजाल विस्तारमा क्षमता वृद्धि, कृषि तथा गैर कृषि व्यवसायमा समावेशिता वृद्धि गरी स्रोत व्यवस्थापनलगायतका तालिम संचालन गर्नेछ । बजार र रोजगार प्रवद्र्धन सम्बन्धी क्रियापलाप पनि परियोजना मार्फत् गरिने संयोजक फुलाराले जानकारी दिए ।

परियोजना मार्फत ६५० अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीका लागी तयार पार्ने लक्ष्य रहेको डेक नेपालका सचिव गोकर्ण आचार्यले जनाए । परियोजना शुभारम्भ कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले अपाङ्गता भएका व्यक्तिहरुको जिविको पार्जन माथि उठाउन सकिने विस्वास व्यक्त गरे । परियोजना सफल बनाउन पालिकाले आफ्नो ठाउँबाट सहकार्य गर्ने उनले जनाए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, वडाध्यक्षहरु, पालिकाको सम्बन्धित शाखाका प्रमुखहरु, अपाङ्गता भएका व्यक्तिहरु, सरोकारवाला निकाय लगाएतको उपस्थिती रहेको थियो ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech