राप्तीसोनारीमा १५औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा पाँचौ अध्यक्ष कप सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको राप्तीसोनारी गाउँपालिकामा पाँचौ राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । राप्ती सोनारी–२ अगैया स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा १५औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा पाँचौ अध्यक्ष कप खेलकूद प्रतियोगिता सुरु भएको हो ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले उद्घाटन गर्दै विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए । विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न पालिकाको दायित्व रहेको पौडेलले बताए । ‘शिक्षाका लागि हामीले कहाँनिर के भुमिका खेल्नुपर्छ, हामी जहिले पनि तयार छौं,’ उनले भने ‘हामीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ ।’

राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले वालवालिकाको सर्वाङ्गीण विकासकालागि शिक्षासँगै खेलकुद अति आवश्यक रहेको बताइन् । त्यसैगरी राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारुले खेलाडीहरुले पैसाको निम्ति नभई अनुशासन र प्रतिष्ठानको निम्ति खेल्नुपर्ने बताए ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले व्यवस्थापन तथा सञ्चालन गरेको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ५८ वटा विद्यालयको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले पन्चे बाजा, आकर्षक झाँकीका साथै सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । साथै कार्यक्रममा डेढ दर्जन विद्यालयहरुले मार्चपास गर्दै गाउँपालिका अध्यक्षलाई सलामी अर्पण गरेका थिए । उद्घाटनको पहिलोदिन शुक्रबार १ देखि ३ कक्षाको गणित दौड, ४ र ५ कक्षाको गणित दौड, आधारभूत तहको एक सय, दुई सय मिटर दौड, सय मिटर, दुई सय मिटर र चार सय मिटरको सेमि फाइनल खेल भएका छन् ।

प्रतियोगितामा आधारभूतको तहको १ देखि ३ कक्षासम्म एवं ४, ५ कक्षाको फरक–फरक गणित दौड प्रतियोगिता समावेस गरिएको छ । यसैगरी आधारभूत तह १ देखि ८ मा सय मिटरको दौड, दुई सय मिटरको दौड र चार सय मिटरको दौड, माध्यमिक तहको हकमा सय, दुई सय, चार सय, आठ सय मिटर, १५ सय मिटर दौड र तीन हजार मिटर दौड समावेश गरिएको छ ।

चार गुणा एक सय मिटर रिले दौड र चार गुणा चार सय मिटर रिले दौड पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । यस्तै लङ जम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभ्लिङ थ्रो पनि माध्यमिक तहका लागि समावेश गरिएको छ । प्रतियोगिता ९ गतेसम्म संचालन हुने आयोजक समितिले जनाएको छ ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech