भेरीमा मृगौला रोगीको निःशुल्क डायलाइसिस

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भेरी अस्पतालमा मृगौला रोगीको निःशुल्क डायलाइसिस हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय पदम गिरीले आइतबार भेरीको निरीक्षण गरेसँगै डायलाइसिस कक्षको उद्घाटन गरेका छन् ।

अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उद्देश्यसहित डायलाइसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ । अस्पतालले यसअघि तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिँदै आएको थियो । अब भने अस्पतालले दैनिक १८ जनालाई सेवा दिने भएको छ । ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए ।

त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघीय सांसद सूर्य ढकाल, डा. धवलशमशेर राणा, दीपा शर्माको उपस्थिति रहेको थियो । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेल, महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, उप–निर्देशक डा.रोशनलाल चौधरीसहित यहाँका राजनीतिक दल, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech