योगिनी कप फुटबल प्रतियोगिताको तयारी सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो । प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी उच्च माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निर्णय गर्ने आयोजकले बताएको छ ।

गत शनिबार बसेको क्लबको बैठकले प्रतियोगिता आयोजनाको तयारी अगाडी बढाउने निर्णय गरेको योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए । उनले भने,‘हामीले पहिलो संस्करण निकै उत्साहका साथ गरेको थियौं । कोभिडका कारण त्यसपछि दोस्रो संस्करण आयोजना गर्न सकिएको थिएन । अव अवस्था सहज भएपछि प्रतियोगिता गर्ने तयारी गरेका छौं । प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग र साथको अपेक्षा गरेका छौं ।’

योगिनी कप फुटबल प्रतियोगिता बाँकेमा आयोजना हुने स्तरीय प्रतियोगितामा पर्छ । बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका क्लबहरुले सहभागिता जनाउने आयोजकले बताएको छ । यसपटक प्रतियोगितामा करिब १५ क्लबको सहभागिता रहने क्लबका अध्यक्ष थापाले बताए ।

प्रतियोगितालाई व्यवस्थित तरिकाले अगाडी बढाउन योगिनी कप फुटबल प्रतियोगिता दोस्रो संस्करणको संयोजक र उप–संयोजक मनोनित गरिएको छ । प्रतियोगिताको संयोजकका रुपमा हरि बहादुर बुढाक्षेत्री र सह–संयोजकका रुपमा ईश्वरलाल खत्रीलाई क्लबको बैठकले मनोनित गरेको छ । यसैगरी आगामी बैठकले प्रतियोगिता आयोजनाको लागि विभिन्न उप–समिति बनाएर काम अगाडी बढाउने अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए ।

नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिताको पहिलो संस्करण २०७७ सालमा भएको थियो । पहिलो संस्करणको फाइनलमा चन्द्रज्योती युवा क्लबले आयोजक योगिनी–११ बी टिमलाई हराउँदै नगद ५१ हजार सहित उपाधि जितेको थियो ।

पहिलो संस्करणको सर्वोत्कृष्ट खेलाडी योगिनी युवा क्लबका याम बहादुर थापा,उदयीमान खेलाडी सुरज थापा क्षेत्री, उत्कृष्ट फरवार्ड याम बहादुर थापा, उत्कृष्ट मिड फिल्डर गोपाल थापा, उत्कृष्ट रक्षक राम ओली र उत्कृष्ट प्रशिक्षकको रुपमा विकास सिंह विक पुरस्कृत भएका थिए ।

 

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech