खजुराको विकासमा हातेमालो गर्न आतुर छुः मन्त्री केसी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ लुम्बिनी प्रदेशका मन्त्रि कृष्णा केसीले खजुराको विकासमा हातेमालो गर्न आतुर रहेको बताएकी छिन् । बाँकेको खजुरा गाउँपालिकामा सोमबार सम्पन्न पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै मन्त्री केसीले खजुराको विकासका लागि आफ्नो भूमिका सक्रिय हुने बताइन् । खेलकुदमा कुनै धर्म, जात नहुने बताउँदै उनले आफ्नो स्वास्थसँगै राष्ट्रलाई चिनाउने काम गर्ने भएकाले यसको विकास अपरिहार्य रहेको बताइन् ।

खजुरामा आयोजना गरिएको मेयर रनिङ शिल्ड प्रतियोगिताबाट देशले नयाँ खेलाडी पाएको उनले उल्लेख गरिन । समापन समारोहमा उनले आफ्ले राजनीति सुरु गरेको खजुरा भएकाले पनि आफ्नो जिम्मेवारी धेरै रहेकोले खजुराको समग्र विकास गर्नमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइन् । मन्त्री केसीले नयाँ खेलाडीका लागि गाउँपालिकाले थप कार्यक्रम संचालन गर्नुपर्नेमा समेत जोड दिइन् । खजुरा खेलकुदको मात्र हव नभएको हर किसिमले अग्रपन्थीमा रहेकाले खजुराको विकास गर्न पालिकासँग समन्वय सहकार्य गरेर अघि बढ्ने जनाइन् । खजुराको समृद्धि र विकासको निमित्त हातमा हात काँधमा काँध थापेर सबै लाग्नु पर्ने बताइन् । खजुरालाई आफूले प्रदेशकै नमुना पालिकाको रुपमा विकास भएको हेर्न चाहेको उनले बताइन् ।

प्रतियोगिताको समापन कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जिल्लामै खजुरा खेलकुदमा अघि बढिरहेको बताए । अध्यक्ष विकले खेलकुदको लागि गाउँपालिकाले हरेक वर्ष पुरस्कार तथा बजेट वृद्धि गर्दै जाने उल्लेख गरे । खेलकुदबाट खजुरालाई देश विदेशमा चिनाउन सहज बनेको भन्दै गाउँपालिका अध्यक्ष विकले यसको विकासका लागि खेलकुद विकास समिति पनि पालिकामा गठन गरिसकेको उल्लेख गरे । तोकिएको पुरस्कार राशि भन्दा थप ५१ हजार प्रथम भएको जनता नमुना माविलाई प्रदान गर्ने अध्यक्ष विकले घोषणा समेत गरे ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खजुराले खेलकुदको विकासमा फट्को मारेको बताए । प्रमुख जिल्ला अधिकारी खत्रीले आफू जिल्लामा रहुन्जेल खजुराको हरेक विकासलाई नियालेको भन्दै थप प्रगतिको कामना गरे । खत्रीलाई खजुराले सोही समारोहमा दोसल्ला ओढाइ बिदाइसमेत गरेको थियो । समारोहमा विजयी खेलाडी तथा विद्यालयहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

 

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech